भारत जाँदै नेपाली क्रिकेट टिम

जेठ ५, काठमाडौँ – नेपाली क्रिकेट टिम आईसीसी विश्व ट्वान्टी–२० छनोट र विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि भारत जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टिमलाई भारत पठाउने निर्णय गरेको हो ।

जुलाई ९ देखि २६ सम्म आयरल्यान्डमा विश्व ट्वान्टी–२० छनोट हुनेछ । नेपालले त्यसअघि नेदरल्यान्डमा गएर ४ ट्वान्टी–२० म्याच खेल्ने तयारी गरिरहेको छ । विश्व ट्वान्टी–२० छनोट सकिएलगत्तै नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग २ एकदिवसीय खेल खेल्नेछ । क्यानका अनुसार विश्व ट्वान्टी–२० पूर्व नेपाली टिमलाई बेलायत र नेदरल्यान्ड्स पठाउने निर्णय भएको छ । साथै सो प्रतियोगिताका लागि विदेशी ब्याटिङ प्रशिक्षक र फिजियोलाई राख्ने निर्णय भएको छ ।

क्यानले महाभूकम्पका कारण भत्किएको क्रिकेटको भौतिक पूर्वाधारको क्षतिको पुनर्निर्माणमा सहयोग गर्न मलेसिया क्रिकेट बोर्डले गरेको प्रस्तावलाई पनि क्यानको कार्यसम्पादन बैठकले अनुमोदन गरेको छ । मलेसिया क्रिकेट बोर्डले नेपाल र विश्व–११ बीच मलेसियामा एकदिवसीय खेल खेल्ने प्रस्ताव गरेको थियो ।

‘भूकम्पले हाम्रो संरचनालाई ध्वस्त पारेको छ, जुन अहिले हाम्रो सामुन्ने छ । अब हामीले हाम्रो भविष्यतर्फ हेर्दै पुनर्निर्माणको लामो यात्रा प्रारम्भ गर्नुपर्नेछ,’ क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले दुई देशबीचको संयुक्त विज्ञप्तिमा भनेकी छन्, ‘मलेसियाले वार्षिकी हिसाबमा यो खेल आयोजना गर्ने प्रस्ताव गर्‍यो, यसले यो दुई देशबीचको क्रिकेट बाहिरको सम्बन्धलाई उजागर गर्दछ ।’

त्यस्तै मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरामले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल क्रिकेट टिम र विश्व–११ टिमलाई किनरारा ओभलमा स्वागत गर्न पाउँदा हामी खुसी छौं । एउटा आयोजकको हैसियतले नेपालले बर्सेनि यसमा खेल्ने सहमति जनाउँदा हामी आभारी छौं ।