दाइजो नल्याएको आरोपमा श्रीमतीलाई यातना

जेष्ठ ४,मोरङ – विवाह भएको दुई महिना बित्न नपाउँदै दाइजो नल्याएको आरोपमा १८ वर्षीया रुकैया अञ्जुमलाई उहाँकै श्रीमान्ले शारीरिक तथा मानसिक यातना दिनुभएको छ ।

विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गराइरहेकी रुकैया अञ्जुमका अनुसार विवाहमा भनेजस्तो मोटरसाइकल नपाएपछि उहाँका श्रीमान् सोनापूर–२ सुनसरीका सद्दाम हुसेनले शारीरिक र मानसिक यातना दिँदै माइतमा ल्याएर छोडी दिएको बताउनुभयो ।
उहाँलाई श्रीमान्ले शारीरिक र मानसिक यातना दिएपछि रुकैयाले विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएको थियो । अस्पतालमा उपचार गराइरहनुभएकी रुकैयाले भन्नुभयो–“घरबाट दुई लाख पर्ने ‘एफ जेट’ मोटरसाइकल दाइजोमा दिएको थियो । तर साढे तीन लाखको ‘आर वान फाइभ’ बाइक नदिएको भन्दै यातना दिएका हुन् । रुकैयाका बुबा लालुमियाँ भन्नुहुन्छ–“तीन सय जन्तीलाई केही कमी हुन नदिनु भनेका थिए । १५ लाख रुपैयाँ खर्च गरेर छोरीको विवाह गरेँ अहिले दाइजो नदिएको भन्दै छोरीलाई यातना दिएर विषसम्म सेवन गराए । गत चैत १२ गते रुकैयाको विवाह सम्पन्न भएको थियो ।
दाइजोविरुद्ध अभियान चलाउँदै आएको मुस्लिम काउन्सिल नेपालका क्षेत्रीय उपाध्यक्ष अबिद हुसेन दाइजो नलिने भन्ने बेहुलाले भनेजस्तो बाइक नभएपछि रिसाएको हुनसक्ने बताउनुहुन्छ । उहाँले दाइजोविरुद्ध अभियान चाल्दै आएको मुस्लिम काउन्सिल पनि विभाजित भएको बताउनुभयो । सद्दामलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ