मदनकुमार भण्डारी र जीवराज आश्रितको निधन भएको आज २२ वर्ष

जेष्ठ ३, काठमाण्डौ – नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २२ वर्ष पुगेको छ । एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रित दिवस मनाउँदैछन् । तर यसवर्ष भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको काममा पार्टी नेतृत्व र कार्यकर्ता समेत परिचालन भएकाले मदन आश्रृत स्मृति दिवसमा धेरै कार्यक्रम नगरिएको एमालेले जनाएको छ ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानवीनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती मण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।