किम जोङ ऊनप्रति बफादार नहुँदा उत्तर कोरियाका रक्षामन्त्रीलाई मृत्युदन्ड

वैशाख ३१,काठमाडौं – उत्तर कोरियाका रक्षामन्त्री ह्योन–योङ चोलाई ‘एन्टी एअरक्राफ्ट मिसाइल’ हानेर मृत्युदन्ड दिइएको छ ।

उत्तर कोरियाली शासक किम जोङ ऊनप्रति बफादार नभएको आरोप लगाउँदै ह्योनलाई सयौं मानिसका अगाडि मृत्युदन्ड दिइएको दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले दाबी गरेको छ ।

मृत्युदन्डको जानकारी उत्तर कोरियाली संसदलाई गराइएको थियो । रक्षामन्त्री ह्योन किमको एक सार्वजनिक कार्यक्रममा निदाएका थिए । उनले निर्देशनसमेत पालना नगरेको आरोप लगाइएको थियो । ह्योनलाई अप्रिल ३० मा मृत्युदन्ड दिइएको दक्षिण कोरियाली गुप्तचर संस्थाले जनाइको छ ।

गत हप्ता मात्रै उत्तर कोरियाका १५ जना उच्च अधिकारीलाई मृत्युदन्ड दिइएको समाचार सार्वजनिक भएको थियो । सन् २०१३ मा किमले आफूविरुद्ध षड्यन्त्र गरेको आरोपमा आफ्नै फूपाजुलाई मृत्युदन्ड दिएका थिए । (एजेन्सी)