इस्लामिक आतंकवादी समूह ‘आइएस’का दोस्रो ठूलो नेता मारिए

वैशाख ३१,काठमाडौं – अमेरिकी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा इस्लामिक आतंकवादी समूह ‘आइएस’का दोस्रो ठूलो नेता मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार उत्तरी इराकमा आतंकवादी गतिविधिको नेतृत्व गर्दै आएका अब्दुल रहमान मुस्तफा मोहम्मद अमेरिकी कारवाहीमा मारिएका हुन् ।

उत्तरी इराकको अल अफर मस्जिदलाई लक्षित गरी गरिएको आक्रमणमा मुस्तफा मारिएको बताइएको छ । इराक र सिरियामा भइरहेको आतंकवादी गतिविधिको नेतृत्व गर्दै आएका अब्दुलकै कमान्डमा आइएसको कब्जामा रहेका सयौं व्यक्तिको हत्या हुने गरेको थियो ।

उनीबारे जानकारी दिनेलाई अमेरिकी विदेश मन्त्रालयले ७० लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको थियो । (एजेन्सी)