राहतका नाममा भ्रष्ट्राचार गर्नेलाई जेल हालिन्छ: प्रधानमन्त्री

वैशाख ३१,काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुलाई राहत, पुनःस्थापन र पुनःनिर्माणमा भ्रष्ट्राचार गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय सहकारी संघ लिका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइएको सहयोग रकम ग्रहण गर्नेक्रममा विहीबार उनले भ्रष्टाचार गर्नेहरुलाई जेल हाल्ने चेतावनी दिएका हुन् ।

महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । विहीबार बिहान प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रम संघका अध्यक्ष केशव बडालले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालीमा एकर्कालाई विपद् पर्दा गाँस काटेर सहयोग गर्ने संस्कार रहेको भन्दै यस्तो बेलामा भ्रष्टाचार गर्नेहरुलाई जेल हाल्नुको विकल्प नहुने बताएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री कोइरालाले राहत वितरणमा निश्पक्षता कायम राख्न सम्बद्ध अधिकृतहरुलाई निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

सो अवसरमा राष्ट्रिय सहकारी संघको समन्वयमा इन्डियन फार्मर्स फर्टिलाइजर्स लिमिटेडले संकलन गरी पठाएको दुई करोड रुपैयाँ बराबरको राहत सामग्री गोर्खा सिन्धुपाल्चोक र काभे्रमा वितरण भइसकेको जानकारी पनि दिइएको थियो ।