संकल्प प्रस्तावमाथि आज पनि सभासदहरुले भनाइ राख्ने

बैशाख २८ ,काठमाडौ – भूकम्प प्रभावितको राहत र पुनर्स्थापनाका लागि व्यवस्थापिका संसदमा पेस भएको संकल्प प्रस्तावमाथि आज पनि सभासदहरुले भनाइ राख्ने क्रम जारी रहने भएको छ ।

भुकम्प प्रभावित जिल्लाका सदस्यहरुलाई संकल्प प्रस्तावमा धारणा राख्न पहिलो प्राथमिकता दिइए पनि अरु सभासदहरुले समेत आफ्नो भनाइ राख्न चाहेकाले आज पनि सभासद्हरुको बोल्ने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।
यसअघि हिजो र आज छलफल गरेर संकल्प प्रस्ताव पारित गर्ने भनिए पनि बोल्ने सभासद्हरु बढी भएकाले आज पारित हुने संभावना कम रहेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।
प्रस्तावमा आवासविहीन भएकालाई नयाँ घर नबनेसम्म अस्थायी घर, डेरामा बस्ने र उद्योग गर्नेहरुलाई राहत दिने उल्लेख छ । भूकम्प पीडितहरुको वर्गीकरण गरेर परिचय पत्र दिने, भूकम्पमा घर गुमाएकाहरुलाई घर निर्माण गर्ने वा उचित अनुदान दिने प्रस्तावमा उल्लेख छ ।
नयाँ आवास नीति र एकीकृत वस्ती विस्तार योजना सरकारले बनाउनु पर्ने संकल्प पनि प्रस्तावमा उल्लेख छ ।