भारतीय सेनाका उपप्रमुखको चीन र भारतबीच जुनसुकै बेला युद्ध हुनसक्ने चेतावनी

बैशाख २७, काठमाण्डौ – भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले नेपालका दुई ठूला छिमेकी चीन र भारतबीच जुनसुकै बेला युद्ध हुनसक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा निस्कने तयारीमा जुटिरहेका बेला उपप्रमुख क्याम्पोसको यो अभिव्यक्तिले भारतमा सनसनी मच्चाएको छ ।
आउँदो साता मोदी चीन जानुअघि आएको उनको यो सनसनीपूर्ण अभिव्यक्तिलाई भारतमा अहम र अर्थपूर्णरुपमा लिइएको छ । ‘२१ औं शताब्दीको जुनसुकै समयमा चीन र भारतको सामना युद्धको मैदानमा हुने खतरा बढेको छ’, उपप्रमुख क्याम्पोसाले भनेका छन् ।
भारतीय सेनाका उपप्रमुख क्याम्पोसका अनुसार दुबै देशको तीब्र गतिमा बढिरहेको शक्तिले युद्धको संकेत गरिरहेको छ । बढ्दो शक्तिको असर दुबै देशको सिमाक्षेत्रमा देखिन थालेको जनाउँदै सिमाक्षेत्रकै विवादले युद्ध निम्त्याउने उनको भनाइ छ ।
दुबै देशबीच लामो समयदेखि सिमानालाई लिएर विवाद चलिरहेको छ । यही कारण नै भारतका लागि चीन ठूलो खतरा भएको दाबी उपप्रमुख क्याम्पोसाले गरेका हुन् ।