संवाद, सहकार्य, मेलमिलाप र एकताबाट संविधान बनाउनुपर्छ : प्रधानमन्त्री कोइराला

बैशाख ११, काठमाण्डौ— प्रधानमन्त्री सुशील कोइरालाले संवाद, सहकार्य, मेलमिलाप र एकताका माध्यमबाट नेपाली जनचाहना बमोजिमको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
लोकतन्त्र दिवस २०७२ को अवसरमा आज एक शुभकामना सन्देश पठाई प्रधानमन्त्री कोइरालाले नेपाली जनचाहनाबमोजिम झण्डै एक शताब्दीदेखि गर्दै आएको सङ्घर्षको परिणाम स्वरूप अहिलेको प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाई जनताको भविष्य उज्जल बनाउन प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ ।

“अहिले हामी जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने ऐतिहासिक चरणमा आइपुगेका छौँ । विगतमा शान्ति प्रकृयाका जटील मानिएका विषयलाई आपसी संवाद, सहकार्य, मेलमिलाप र सहमतिका आधारमा समाधानमा पु¥याएको अनुभवलाई संविधान निर्माणमा पनि उपयोग गरेर जनचाहनाबमोजिम संविधान बनाउन दिवसले सबैलाई प्रेरित गर्न सकोस,”–प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लामो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेका अधिकारलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने कार्यमा धैर्यतापूर्वक साथ पाउने अपेक्षासहित देशभित्र र बाहिर रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले संविधानसभा भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिलाई शहिदहरूको सपना, देश र जनताको आवश्यकता तथा चाहना बमोजिम लोकतान्त्रिक संविधान निर्माणमा अत्यधिक लचकता अपनाएर संविधान निर्माणलाई टुंगोमा पु¥याई मुलुकको हित र जनताको सुख, शान्ति र समृद्धिको लागि आर्थिक–सामाजिक विकास निर्माणमा सरिक हुन हार्दिक अनुरोध गर्नुभएको छ ।