दलहरुबीच चाँडै सहमति हुन्छ -प्रचण्ड

बैशाख ६, काठमाण्डौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुबीच संविधान निर्माणका विषयमा छिट्टै सहमति हुने, चिनियाँ नेताहरुलाई विश्वास दिलाउनुभएको छ ।

आप्mनो निवास लाजिम्पाटमा आज बिहान भेट्न पुगेका चिनियाँ कम्युनिष्ट पार्टी सान्झी प्रान्तका सेक्रेटरी झेयो झेन्याङको टोलीलाई प्रचण्डले संविधान निर्माणबारे जानकारी गराउनुभएको हो । नेपाल भ्रमणमा रहेका चिनियाँ टोलीले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेको भेटमा सहभागी माओवादी नेता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
दुईपक्षीय भेटमा संविधान निर्माण, दुई देश र दुई पार्टीबीचको सम्बन्ध सुधारबारे छलफल भएको थियो । झेन्याङले पनि नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले नेपालमा सहमतिबाट चाँडो संविधान बनोस्, संविधान बनेपछि आर्थिक विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेको नेता सापकोटाले जानकारी दिनुभयो ।