नेपाल विश्व बरियतामा एकस्थान घटुवा

चैत्र २६,काठमाडौ- विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नेपाल अहिले १८१ औँ स्थानमा छ, गत महिना १८० औँ बरियतामा थियो । बरियतामा घटुवा हुनका बाबजुद नेपालको अङ्क भने बढेको छ । गत महिना ५७ प्राप्ताङ्क रहेको नेपालको यो महिना बढेर ७१.२१ पुगेको छ । तर फिफाको प्राथमिकतामा प्राप्ताङ्कभन्दा बरियता पर्छ । दुई साताअघि विश्वकप फुटबल छनोटमा नेपाल भारतसँग समग्रमा २–० ले पराजित भएसँगै बरियता घटेको हो ।
दक्षिण एसियामा भुटान, भारत र अफगानिस्तान बढुवा हुँदा अन्य राष्ट्र भने घटुवामा परेका छन् ।
दक्षिण एसियामा शीर्षस्थानमा रहेको अफगानिस्तान दुईस्थान माथि चढ्दै १३५ औँमा छ भने भुटान ४६ स्थान बढुवा हुँदै १६३ औँ स्थानमा पुगेको छ । भुटानभन्दा अफगानिस्तानसँगै मालदिभ्स र भारत मात्रै अगाडि छन् । आठ स्थान घटेको मालदिभ्स १४१ स्थानमा र २६ स्थान वृद्धि गरेको भारत १४७ मा छ ।
श्रीलङ्का १२ स्थान तल झर्दै १८६ मा पुगेर दक्षिण एसियामा सबभन्दा तल्लो बरियतामा रहेको मुलुक बनेको छ भने दुई स्थान तल झरेको पाकिस्तान १७२ औं स्थानमा छ ।
विश्व बरियताको शीर्ष स्थानमा विश्वविजेता जर्मनी कायम रहँदा उपविजेता अर्जेन्टिना पनि दोस्रो स्थानमै रहन सफल भएको छ । त्यस्तै, एक स्थान माथि सर्दै बेल्जियम तेस्रो हुँदा एक स्थान तल झरेको कोलम्बियाले चौथोमा चित्त बुझाएको छ । पाँच पटकको विश्वविजेता ब्राजिलले पनि एक स्थान सुधार गर्दै पाँचौ स्थान पक्का गर्दा नेदरल्याण्ड्स, पोर्चुगल, उरुग्वे, स्वीट्जरल्याण्ड र स्पेन क्रमश छैटौंदेखि दशौँ स्थानमा छन् ।