कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित

चैत्र २६,काठमाडौ- इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको आठौं संस्करणको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १६९ रनको लक्ष्य कोलकत्ताले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान गौतम गाम्भीरले ५७ रन बनाए । सूर्यकुमार यादवले अविजित ४६ रनको पारी खेले भने मनिष पाण्डेले ४० रनको योगदान दिए । युसुफ पठान १४ रनमा अविजित रहे । रोबिन उथप्पाले मात्र ९ रन बनाए ।
मुम्बईका कोरी एन्डरसन, जसप्रित बुमराह र हरभजन सिंहले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले रोहित शर्माको अविजित ९८ रनको मदतमा २० ओभरमा ३ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
एक समय ३७ रन जोड्दा मुम्बईले तीन विकेट गुमाइसकको थियो । एरोन फिन्च ५, आदित्य तरे ७ रन जोडे भने अम्बाती रायडूले खाता नै खोल्न सकेनन् ।
तर, रोहित र कोरी एण्डरसनले चौथो विकेटका लागि अविजित १३१ रनको साझेदारी गरे । ६५ बलको सामना गरेका रोहितले १२ चौका र चार छक्का हाने । कोरी एण्डरसनले पनि राम्रो पारी खेले । उनले ४१ बलमा ५५ रन बनाए । कोलकत्ताका मोर्ने मोर्केलले २ तथा सकिब अल हसनले एक विकेट लिए ।