स्वाईन फ्लूका कारण एमाले नेता ढकालको निधन

चैत्र २२ , काठमाडौं- नेकपा एमालेका नेता रामनाथ ढकालको स्वाइन फ्लूका कारण निधन भएको छ । ढकालको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आइतबार निधन भएको नेकपा एमालेले पुष्टि गरेको छ । स्वाईन फ्लुले संक्रमित भएपछि ढकालको एक हप्तादेखि ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।ढकालको पाथिर्थ शरीरलाई श्रदाञ्जलीका लागि सोमबार बिहान एमाले कार्यालय बल्खुमा राखिने र सोमबार नै दिउँसो अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।

उहाँ गएको संविधानसभा चुनावमा रुपन्देही क्षेत्र नम्बर ५ बाट संविधानसभाको उम्मेदवार हुनुहुन्थ्यो । रामनाथ ढकालको जन्म वि।सं।२०१९ पुष ५ गते खड्गकोट ३ गुल्मीमा भएको थियो । रामनाथ ढकाल कानूनमा स्नातक हुनुहुन्थ्यो । २०३६ सालमा तत्कालिन नेकपा मालेको बिद्यार्थी संगठन मार्फत राजनीति सुरु गरेका ढकाल अनेरास्ववियूको महासचिव हुँदै २०५० सालमा अध्यक्ष हुनुभएको थियो ।नेकपा एमालेको लुम्बिनी अञ्चल ईञ्चार्ज भएर काम गरेका ढकाल केन्द्रीय सदस्य समेत हुनुभएको थियो । पार्टीमा गुटबन्दी भएकोमा चिन्तित देखिएका ढकाल गुटबन्दी अन्त्य हुनु पर्ने पक्षमा हुनुहुथ्यो । नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पार्टीमा गुटबन्दी अन्त्य गर्ने भन्दै चुनाव लड्नु भएको थिएन ।