ओलढुंगामा मजदुर आन्दोलित

चैत्र २२,ओखलढुंगा- ओलढुंगामा ठेकेदारले समयमै ज्याला नदिंदा मजदुरहरू आन्दोलित बनेका छन् । विकेन्द्रित ग्रामीण पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलीप) अन्तर्गत ‘रुम्जाटार–खार्तेखोला सडक’ निर्माणमा खटिएका मजदुरहरू पारिश्रमिक नपाएपछि ठेकेदार विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित मजदुरहरूले काममा प्रयोग हुने बेल्चा, कोदाली, गलखन्ती, लत्ता कपडा, भाँडाकुँडा,सहित बालबच्चा बोकेर सदरमुकाममा र्‍याली समेत निकालेका छन् ।

र्‍यालीपछि प्रशासनमा धर्ना दिँदै आफूले काम गरेको ज्याला नपाउँदा भोकभोकै वस्नुपरेको मजदुरहरूले गुनासो गरेका छन् । ‘कञ्चनजंघा पिएस जेभी’ नामक ठेकेदार कम्पनीले काम लगाएका मजदुरहरूलाई राशनको कटाएर करिव ७० लाख भुक्तानी गर्न बाकीँ रहेको बुझिएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि श्याम श्रेष्ठ भने लामो समयदेखि राजधानीमा रहेको मजदुर कमल राईले बताए ।

विकेन्द्रित ग्रामीण पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलीप)का प्रमूख सुरेन्द्र लौडारीले ठेकेदारले समयमा बिल पेश नगर्दा भुक्तानी गर्न ढिलाई भएको बताए । ठेकेदारले कामको हिसाब गरेर बिल भुक्तानी गर्ने बित्तिकै मजदुरहरूले पैसा पाउने प्रमूख लौडारीको भनाई छ । निर्माणको काम भईसके पनि ठेकेदारले बिल पेश गर्न ढिलाई गरेकोले मजदुरहरू मर्कामा परेका हुन् ।

ठेकेदारका प्रतिनिधि श्याम श्रेष्ठले भने आफूले ठेक्का लगाएको फर्म कञ्चनजंघा पिएस जेभीले बिल पेश गर्न मञ्जुरीनामा दिने काम ढिला गरेको बताए । सात करोडमा ‘कञ्चनजंघा पिएस जेभी’ले सडक खन्ने ठेक्का लिएको थियो । स्थानीय उपभोक्ता समिति गठन गरि काम लगाउनुपर्ने नियम रहेपनि कामका लागि उदयपुर, खोटाङ र नवलपरासी सम्मका मजदुरहरू प्रयोग गरिएका छन् ।

समयमै ज्याला नपाउँदा लगभग पाँच सय हाराहारीको मजदुर्हरूलाई समस्या भएको छ । मजदुरहरूको खाना वासको समस्या भएकोले तत्काल केहि समस्या समधानका लागि ठेकेदार श्याम श्रेष्ठबाट जिल्ला प्रशासन कार्यलय ओखलढुंगाको रोहवरमा मजदुरहरूलाई एक लाख रुपियाँ उपलब्ध गराईएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले बताए । बाँकी रकम ठेकेदार कम्पनीका प्रतिनिधि झिकाई एक हप्ताभित्र पाउनुपर्ने रकम असुल उपर सँगै मजदुरका माग पूरा गरिने जिल्ला प्रसाशन कार्यलयले जनाएको छ ।