चैत्र २१,सप्तरी- सिरहा र सप्तरीको सिमानामा सवारी दुर्घटना हुँदा एकै गाउँका चार जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बलान पुलमा गएराति मोटरसाइकल र विपरीत दिशाको ना. ५ ख ४९७३ नम्बरको चिनारी रात्रि बस एक आपसमा ठोक्किएको हो । दुर्घटनामा सप्तरी दौलतपुर–१ का अमनसिंह, अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतोको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले मृत्यु हुने चारैजनाले मदिरा र गाँजा सेवन गरेका थिए ।
उनीहरुको शरीरबाट गाँजा तान्ने चिलम, केही नगद रकम, परागलगायतका समानसमेत बरामद भएको छ । नशाले मात्तेकै कारण मोटरसाइकल बसमा ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनाग्रस्त मोटरसाइकल, बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । बसका करिब तीन दर्जन यात्रु इलाका प्रहरी कार्यालयमै रात बिताउन बाध्य भएका छन् ।
यसैबीच, सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा रौतहटमा एकजनाको मृत्यु भएको छ । गएराति राति सवगढा चोकमा प्रहरीको गाडीले ठक्कर दिदाँ गौर नगरपालिका–१० का रामअसिस ठाकुर गम्भीर घाइते हुनुभएको थियो । घाइते ठाकुरको जिल्ला अस्पताल गौरमा उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।