चैत्र २१, काठमाण्डौं – सरकारले घोषणा गरेको सन् २०१५ सम्ममा नेपाललाई पूर्णसाक्षर मुलुक बनाउने अभियानलाई सफल पार्न विभिन्न दलका सभासद, पत्रकार, शिक्षाविद्लगायतले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा विभिन्न दलका सभासद, पत्रकार र शिक्षाविद्लगायतले सरकारी योजना पूरा गर्न आफू सचेत रहेको भन्दै आउँदा दिनमा सक्रियरुपमा लाग्ने प्रतिबद्धतापत्रमा हस्तक्षर नै गरेका थिए ।हस्ताक्षर गर्नेहरुमा कांग्रेस सभासद आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेका नागेन्द्र चौधरी, एमाओवादीका गिरिराजमणि पोखरेल, सदभावनाका लक्ष्मणलाल कर्ण, पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्ट, शिक्षाविद् विद्यानाथ कोइरालालगायतका रहनु भएको छ।कार्यक्रममा सहभागी सभादहरुले सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि सरकार एक्लैको प्रयास अपर्याप्त हुने भन्दै त्यसका लागि आफूहरु सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताएका थिए ।
मुलुक पूर्णरुपमा साक्षर हुँदा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा समेत देशको छवि उच्च हुने भन्दै बाँकी रहेको ८ महिनामा लक्ष्य पूरा गराउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्नुपर्ने उनीहरुको भनाइ थियो ।कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले राज्यले लिएको महाभियानलाई सफल बनाउन राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
व्यवस्थापिका संसदअन्तर्गतको महिला, बालबालिका समितिका सभापति रञ्जुकुमारी झाले सरकारले लिएको साक्षरता अभियानसँग नेपाल र नेपालीको प्रतिष्ठा गाँसिएको भन्दै राजनीतिक दल, पत्रकारलगायतले अभियान सम्पन्न गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।