विश्वको सबैभन्दा बढी उमेरका नागरिकको निधन

चैत्र १८, ओसाका- विश्वकै सबैभन्दा बढी उमेरकी जापानी महिलाको बुधबार निधन भएको छ । प्राप्त समाचारअनुसार उहाँको ११७ वर्षको उमेरमा निधन भएको हो ।

जापानको ओसाका सहर निवासी मिसाओ ओकावालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले विश्वको सबैभन्दा बढी उमेरको नागरिकका रुपमा दर्ता गरेको थियो ।
जापानको ओसाका सहरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उहाँको बुधबार बिहान निधन भएको हो ।
उहाँलाई स्थानीय नर्सिङ होममा राखिएको र त्यहीँ निधन भएको समाचारमा जनाइएको छ । बुधबार बिहान निधन भएको समाचार स्थानीय सञ्चारमाध्यमले दिएका छन् ।
उहाँलाई मुटुमा समस्या देखिएपछि सो नर्सिङ होममा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था पहिले भने खासै नराम्रो नरहेको र हालैमात्र नर्सिङ होम भर्ना गरिएको परिवार स्रोतले जनाएको छ ।
उहाँले गएको १० दिनदेखि खाना खान छोडेको अस्पतालले जनाएको छ । त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
बुधबार बिहान स्थानीय समयानुसार ६ः५८ बजे उहाँको निधन भएको हो । परिवारका सदस्यका साथमा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।
ओकावाले गत महिनामात्र आफ्नो ११७औँ जन्मदिन मनाउनुभएको थियो । सो अवसरमा उहाँलाई सोधिएको एक प्रश्नमा आपूmलाई आफ्नो जीवन छोटो लागेको प्रतिक्रिया दिनुभएको थियो ।
उहाँको जन्मदिनका अवसरमा जम्मा भएका पत्रकारले उहाँलाई सोधेका थिए– यति लामो जीवन बाँच्नुभयो जीवनप्रतिको तपाईको अनुभव कस्तो छ ?
यस प्रश्नको जवाफमा उहाँले भन्नुभएको थियो– मलाई त बरु मेरो जीवन छोटो लाग्यो ।
विश्वको सबैभन्दा लामो उमेरको नागरिकको हैसियतमा बाँच्न सक्नुको उहाँको जीवन शैलीको भित्री रहस्यका बारेमा गत वर्ष उहाँको जन्मदिनका अवसरमा गरिएको अर्काे एक प्रश्नमा उहाँले खानामा सुसी र धेरै सुत्नु कारकका रुपमा रहेका बताउनुभएको थियो ।
सुसी जापानी नागरिकको खाना हो । जापानी नागरिकमा यो खानाको परिकार निकै लोकप्रिय छ ।
उहाँको जन्म सन् १८९८ को मार्च ५ मा भएको थियो । उहाँको जन्म ओसाका सहरमा नै भएको हो ।
उहाँलाई सन् २०१३ मा विश्वको सबैभन्दा बढी उमेरको नागरिकका रुपमा गिनिज वल्र्ड रेकर्डसले मान्यता दिएको थियो ।
यसअघि पनि संसारको सबैभन्दा लामो उमेरको नागरिकका रुपमा जापानकै अर्का नागरिक जिरेमन किमोरा रहनुभएको थियो ।
सन् २०१३ मा नै ११६ वर्षको उमेरमा किमोराको निधन भएपछि मिसाओ ओकावालाई यो मान्यता दिइएको थियो । ओकावा विश्वको सबैभन्दा बढी उमेरको महिलामात्र नभएर बढी उमेरको नागरिक नै हुनुहुन्थ्यो । एएफपी