विजेता टिमलाई ट्रफि दिन नपाएपछि आइसिसीका प्रेसिडेण्ट कमलको राजिनामा

चैत्र १८,काठमाडौ- आइसिसीका प्रेसिडेण्ड मुस्ताफा कमलले पदबाट राजिनामा दिएका छन् । बुधबार बंगलादेशको ढाका बिमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरि कमलले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । विश्वकपको फाइनलमा विजेता टिमलाई ट्रफि वितरण गर्न नपाएपछि उनी आइसिसीप्रति आक्रोशित थिए । बंगलादेश र भारतबिचको क्वाटरफाइनल खेलमा गलत निर्णय गरेको भन्दै अम्पायरको आलोचना गरेका कमाललाई आइसिसीले विश्वकप फाइनलमा पुरस्कार वितरण समारोहमा बोलाएको थिएन । उनको सट्टामा आइसिसीका चेयरम्यान एन श्रीनिवासनले विश्वकप विजेता अष्ट्रेलियालाई ट्रफि हस्तान्तरण गरेका थिए ।

आइसिसीको नियममा कुनैपनि ग्लोबल इभेन्टको पुरस्कार प्रेसिडेन्टले वितरण गर्ने नियम भएपनि आइसिसीले आफ्नो नियम मिचेर आफूमाथि अन्याय गरेको कमालले बताउँदै आएका छन् । आइसिसीको अध्यक्ष भएर अम्पायरको अलोचना गरेर गैर जिम्मेवारी देखाएको भन्दै आसिसीले कमललाई माफी माग्न भनेको थियो ।
तर उनले माफी मागेका थिएनन् । उनले अम्पायरले मिलेर बंगलादेशलाई हराएको बारेमा आइसिसीको अबको बैठकमा कुरा उठाउने बताएका थिए । आइसिसीको बोर्डमा चेयरम्यान र प्रेसिडेन्ट दुवै पदको व्यवस्था छ । प्रेसिडेन्ट कमल बंगालदेशी नागरिक हुन् भने चेयरम्यान श्रीनिवासनका भारतका नागरिक हुन् ।