राष्ट्रपति चीन भ्रमण : द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी

चैत्र १८,काठमाडौ- राष्ट्रपति डा रामवरण यादवको आज सम्पन्न साताव्यापी चीनको औपचारिक भ्रमण नेपाल–चीन सम्बन्ध विस्तारमा फलदायी हुनुका साथै नेपालप्रतिको चिनियाँ सहयोग र सद्भाव प्रवद्र्धनमा उपलब्धिमूलक बनेको महसुस गरिएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा उदाएको उत्तरको छिमेकी राष्ट्र विश्वको शक्ति राष्ट्रमा रुपान्तरित हुने लक्ष्यका साथ अघि बढिरहेका बेला त्यहाँको उच्च राजनीतिक नेतृत्व र उच्च पदस्थ अधिकारीसँग भएका छलफलले एकअर्कालाई नजिकबाट बुझ्न र सहयोग एवम् सहकार्य बढाउन पनि राष्ट्रपतिको भ्रमण फलदायी भएको मान्न सकिन्छ ।
राष्ट्रपति यादवको आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग पहिलोपटक भएको औपचारिक भेट मुलुकका निम्ति विशेष महत्वको रह्यो । दश वर्षपछि चीनमा नयाँ नेतृत्वको उदय भएपछि दुई देशका राष्ट्राध्यक्षबीचको भेटवार्ताले द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढीकरणमा योगदानमात्र गरेन दुवै देशका साझा राष्ट्रिय स्वार्थ पूरा गर्ने दिशामा समझदारी बढाउन सघाउ पुग्यो, जसले नेपाल–चीन सम्बन्धका दायरा अझ फराकिलो बनाएको छ ।
चीनले नेपाललाई वार्षिक रुपमा उपलब्ध गराउँदै १५ करोड चिनियाँ युआनलाई ८० करोडले यसै वर्ष वृद्धि गर्नु र राष्ट्रपति यादवको भ्रमणको अवसर पारेर ९० करोड युआन कोदारी राजमार्गको स्तरोन्नति तथा अन्य सडक र पूर्वाधार निर्माणका लागि अनुदानस्वरुप प्रदान गर्नुले नेपालको विकास प्रयासमा विश्वासिलो साझेदारका रुपमा बेइजिङले आफूलाई उभ्याएको प्रष्ट हुन्छ । दक्ष जनशक्ति उत्पादनमा भरथेग गर्न आगामी पाँच वर्षसम्म एक हजार पाँचसय छात्रवृत्ति ‘कोटा’ उपलब्ध गराउने चीन सरकारको अर्को घोषणा दुई देशका राष्ट्रपतिको भेटपछि हुनु भ्रमणको अर्को उपलब्धि हो ।
पारस्परिक सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय संयन्त्रलाई सक्रिय तुल्याउने, कानुन कार्यान्वयन गर्ने निकायलाई थप मजबुत र साधनस्रोत सम्पन्न बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता चीनको परराष्ट्र नीतिमा नेपाल उच्च प्राथमिकतामा रहेको यथार्थ मुखरित हुन्छ । चीनले व्यापार, लगानी, पूर्वाधार, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि, ऊर्जा, क्षमता अभिवृद्धि र सुरक्षा तथा कानुन कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने दृढता बारम्बार व्यक्त गर्दै त्यस निम्ति द्विपक्षीय, क्षेत्रीय र सहयोगसम्बन्धी परियोजना तर्जुमा गर्दै अघि बढ्न दीर्घकालीन योजनामा जोड दिनुलाई नेपाल–चीन सम्बन्धले भविष्यमा नयाँ उचाइ लिने आधार खडा गरेको मान्न सकिन्छ ।
मुलुकको पूर्वाधार विकासको पूर्वसर्तका रुपमा रहेको विद्युत् र पश्चिम सेतीजस्ता विशाल विद्युत् परियोजना निर्माणमा चीनले देखाएको अभिरुचि स्वागतयोग्य छन् । जलविद्युत् विकास एवम् उत्पादनमा चीनको अनुभव, उच्च प्रविधियुक्त उपकरण, प्राविधिक ज्ञान र सीप नेपालको ऊर्जा उत्पादनका क्षेत्रमा अति उपयोगी हुने चिनियाँ विदेशमन्त्री याङ यीको अभिव्यक्तिले बिजुलीको अभावमा छटपटाइरहेका सारा नेपालीलाई उत्साहित तुल्याएको छ । पूर्वाधार निर्माणमा अर्वौं रुपैयाँ प्रदान गर्ने चीन सरकारको पछिल्लो घोषणाले नेपालको विकासका अवरोध हटाउने र समृद्धिको बाटोमा अग्रसर गराउने निःस्वार्थ सद्भाव प्रतिविम्बित हुन्छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव वर्षको प्रारम्भमा भएको राष्ट्राध्यक्षको चीन भ्रमण, यसै महिना परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा गरेको वार्तामा दुई देशबीचको विस्तृत सहकार्यात्मक सम्बन्धलाई अझ चिरस्थायी एवम् आपसी लाभमा केन्द्रित गर्ने चिनियाँ चाहना विदेशमन्त्रीबाट व्यक्त हुनु पारस्परिक सहयोग विस्तारलाई चीनले उच्च प्राथमिकतामा राखेको बुझ्न सकिन्छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को पर्यवेक्षक चीनले नेपालको समृद्धि आफ्नो राष्ट्रिय स्वार्थ र तिब्बतको सुरक्षासँगसमेत गाँसिएकाले पनि भौतिक एवम् आर्थिक सहायतामा भारी वृद्धि गरेको हो । रणनीतिक भौगोलिक अवस्थितिका कारण उत्तरको छिमेकीबाट प्राप्त हुने सहयोगलाई नेपालले अधिकतम उपयोग गर्न उत्तिकै जरुरी भएको छ । चीनको विश्वास जित्दै विकासको पथमा अग्रसर हुन उसको साथ र सहयोग निरन्तर प्राप्त हुने वातावरण बनाउन मुलुक चुक्न नहुने आवश्यकता पनि उत्तिकै मननीय छ ।
क्षेत्रीय आर्थिक एकीकरण प्रवद्र्धन तथा एसियाली मुलुकलाई उनीहरूको विकास लक्ष्यमा अझ निकट ल्याउने उद्देश्यले चीनको अगुवाइमा १५ वर्षअघि स्थापित बोआओ मञ्चमा नेपालका राष्ट्राध्यक्षबाट पहिलोपटक भएको सहभागिता तथा त्यहाँ अभिव्यक्त सारगर्वित मन्तव्यको उपस्थित एसियाली नेताहरुबाट प्रशंसा हुनुले राष्ट्रको प्रतिष्ठा बढाएको छ ।
सम्मेलनका क्रममा अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग भएका भेटवार्ताबाट ती मुलुकसंग विद्यमान नेपालको सम्बन्ध नवीकरणमा मद्दत पुग्नुका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका विषयमा विचार आदानप्रदान गर्न महत्वपूर्ण अवसर जुट्यो । युरोपेली मुलुकका राष्ट्राध्यक्ष र सरकारप्रमुखसँग राष्ट्राध्यक्षको तहमा भएका संवादले पारस्परिक सम्बन्ध अझ प्रगाढ तुल्याउन उल्लेखनीय योगदान पुगेको छ जसलाई उपलब्धिपूर्ण मान्न सकिन्छ ।
‘एसियाको नयाँ भविष्य : साझा भाग्ययुक्त समुदायतर्फ’ विषयक एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भोकमरी, गरिबी र असमानताको अन्त्यका लागि एसियालीमात्र नभई विश्वभरका राष्ट्रबीच सहकार्य एवम् एकीकृत प्रयास हुनुपर्ने आवश्यकतामा राष्ट्रपतिले विशेष जोड दिनुलाई कूटनीतिक क्षेत्रका जानकारहरूले एसियाका साथै समग्र विश्वले झेल्नुपरेका समस्याप्रति अन्तर्राष्ट्रिय जगत्लाई झक्झक्याएर नेपालको प्रतिष्ठा र गरिमा बढाएको विश्लेषण गरेका छन् । आर्थिक उन्नयन, क्षेत्रीय विकास, उद्योग रुपान्तरण, प्राविधिक नवप्रवर्तन, राजनीति र सुरक्षाबारे सम्मेलनमा भएका छलफल नेपालका निम्ति उपयोगी रहे । ती छलफलका निचोड नेपालको अधिकतम हित र राष्ट्रिय स्वार्थमा उपयोग गर्दा मुलुक र मुलुकवासीलाई फाइदा हुने विश्वास गर्न सकिन्छ ।