भ्रष्टाचार रोक्ने प्रमुख दायित्व सरकारको – कार्की

चैत्र १६,काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार रोक्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ ।राष्ट्रिय सतर्कता केन्द्रले सोमबार ललितपुरमा गरेको दीर्घकालीन रणनीति तर्जुमा गोष्ठीमा अख्तियारका प्रमुख आयुक्त कार्कीले भ्रष्टाचारजन्य क्रियाकलाप रोकी मुलुकमा सुशासन कायम गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।उहाँले भ्रष्टाचार ठूलो र सानो नहुने भन्दै सबै भ्रष्टाचारीलाई कारबाही गर्न आयोग सक्रिय रहेको स्पष्ट पार्नुभयो । उहाँले जस्तोसुकै असहज परिस्थितिमा पनि अख्तियारले भ्रष्टाचारीलाई नछाड्ने बताउनुभयो ।प्रमुख आयुक्त कार्कीले एउटै काममा पाँच वटा निकायले हात हाल्ने प्रवृत्ति मौलाएका कारण भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँले सरकारी निकायबीचको समन्वयमा जोड दिँदै राष्ट्रिय सतर्कता केन्द्रलाई छुट्टै आयोग बनाउन थालिएको गृहकार्यप्रति असन्तुष्टि जनाउनुभयो ।