इस्लामिक अतिवादी विरुद्ध लड्न अरब मुलुकहरुको संयुक्त सेना बन्ने

चैत्र १६,काठमाडौ- अरब मुलुकहरुले संयुक्त सेना बनाउन सहमति गरेका छन् । इजिप्टमा चलिरहेको अरब लीग देशका प्रमुखहरुको बैठकले अरबको संयुक्त सेना बनाउन सहमति गरेका हुन् ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसिले संयुक्त सेना बनाउन सहमति बनेको जानकारी दिएका छन् ।
यमनको जारी संकट, ईराक, सीरिया र लीबियामा इस्लामिक अतिवादी समूहको बढ्दो प्रभाव रोक्ने सम्बन्धमा छलफल गर्न जुटेका लीगका नेताहरु संयुक्त सेना बनाउन राजी भएका हुन् ।
यद्यपि, यस्तो सेना निर्माण गर्न भने केही महिना लाग्ने बताइएको छ । यमनमा शिया हूथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा दश देशका गठबन्धन सेनाले हवाई आक्रमण जारी राखेको छ ।
आक्रमण यमनी राष्ट्रपति अबिद रब्बुह मन्सूर अल हादीको समर्थनमा गरिएको हो ।
हूथी विद्रोहीले सत्ता कब्जा गरेपछि हालैका दिनमा हादी रियादमा शरण लिइरहेका छन् । यस प्रकरणमा सुन्नी अरब देशहरु र शिया इरानबीच छद्म युद्ध भइरहेको विश्लेषण पनि गरिएको छ ।
एजेन्सी