सहमतिका लागि चौबीसै घण्टा वार्तामा बस्न नेम्वाङको आग्रह

चैत्र १३ , काठमाण्डौं – संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले संविधानका विवादित विषयलाई सहमतिमा परिणत गर्न अब २४सै घण्टा वार्तामा बस्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

संसद् सचिवालयको संयोजनामा आज यहाँ आयोजित ‘समाचार सङ्कलन, सम्प्रेषणका समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियामा उहाँले संविधान निर्माणको प्रक्रिया महत्वपूर्ण विन्दुमा आइपुगेका कारण यसलाई वार्ता र संवादबाट सहमति कायम गरी यथाशक्य टुङ्गोमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।संसद् र सञ्चारकर्मीबीच हार्दिकता बढाउनु भनेको सही सत्य सूचना सम्पे्रष्ण गर्नु पनि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो–“जनतालाई सुसूचित गर्दा संस्थाको गरिमा बढ्ने किसिमले सही सूचना सम्प्रेषण गर्नुपर्छ ।”
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना सम्प्रेषणमा यदाकदा देखिएका कठिनाइलाई तत्कालीन एवम् दीर्घकालीन रुपमा समाधान गर्न सचिवालय र सञ्चारकर्मीबीच निरन्तर संवाद आवश्यक हुने बताउनुभयो ।

सचिवालयका सचिव ठाकुरप्रसाद बरालले सचिवालय र सञ्चारकर्मीबीच निरन्तर छलफल गर्न सकिए सत्य र तथ्य समाचार सम्प्रेषणमा पनि सहयोग पुग्ने धारणा राख्नुभयो ।सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सचिवालय र सञ्चारकर्मीबीच गरिने यस प्रकारका अन्तरक्रियाले कार्यगत एकता र विश्वास बढ्ने उल्लेख गर्नुभयो ।