शिक्षण अस्पतालका आवासीय चिकित्सकले काम रोके

चैत्र १३ , काठमाण्डौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा। डा। गोविन्द केसीको आमरण अनसनप्रति ऐक्यबद्धता जनाउँदै आवासीय चिकित्सकले काम रोकेका छन् ।

शिक्षण अस्पतालका करिब २ सय जना आवासीय चिकित्सकहरुले शुक्रबारबाट बहिरंग विभाग अर्थात ओपिडीमा काम नगरेका हुन् । अस्पतालका चिकित्सक डा केसीले राखेका माग सम्बोधन गर्नेतर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै आवासीय चिकित्सकले काम रोकेका हुन् ।

आबसीय चिकित्सकले काम नगरे पनि ओपिडी बन्द भने भएको छैन । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई स्वायत्तता प्रदान गरिनुपर्ने, शहरी क्षेत्रमा मेडिकल कलेज खोल्न दिन नहुने, पूर्वाधारबिनाका मेडिकल कलेजको सम्बन्धन रोकिनुपर्ने, मेडिकल शिक्षालाई गुणस्तरीय बनाउने नीति बनाइनुपर्ने लगायतका माग राखी डा। केसी गएको आइतबारदेखि अस्पताल हातामा आमरण अनसनमा बस्नुभएको छ ।