बलात्कारीलाई नपुंसक बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

चैत ११, काठमाडौँ- व्यवस्थापिका संसद्को महिला तथा बालबालिका समितिले बालिका बलात्कारीलाई आजीवन कारबासहित रसायनिक विधिद्वारा नपुंशक बनाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बुधबार बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको उपस्थितिमा सरकारलाई यस्तो निर्देशन दिएको हो। समितिले बालिका बलात्कारका घटना पछिल्ला दिनमा डरलाग्दो ढंगले बढेकोले यसलाई कानुनी रुपमा निरुत्साहन गर्नका लागि कडाभन्दा कडा सजाय व्यवस्था गर्नुपर्ने निश्कर्ष निकाल्दै बलात्कारलाई नपुंशक बनाउने व्यवस्था गर्न माग गरेको हो।
महिला तथा बालबालिका समितिका सभापति रञ्जु झाले समितिको निर्देशन सुनाउँदै बालिका बलात्कारीलाई आजीवन कारबाससहित रसायनिक विधिबाट नपुंशक बनाउने व्यवस्था भएका यस्ता घटना कम हुने विश्वासका आधारमा यस्तो निर्णय लिइएको बताए।
समितिको बैठकमा सहभागी सभासद्हरुले विदेशमा बलात्कारीलाई नपुंशक बनाउने प्रचलन भएकोले नेपालमा पनि त्यो लागु गर्नुपर्ने बताएका थिए। बैठकमा उपस्थित उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले कानुनबिना बलात्कारीलाई नपुंशक बनाउन नसकिने बताउँदै यसका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिए।