मिर्गाैला पीडित रोकाले पाए बेलायतबाट एक लाख ४६ हजार सहयोग

चैत ११, म्याग्दी-मिर्गौला रोगबाट पीडित म्याग्दी दरबाङ दिच्याम–७ का टेकबहादुर रोकाको उपचारका लागि बेलायतमा रहेका नेपालीले रु एक लाख ४६ हजार ३०० आर्थिक सहयोग गरेका छन् । धौलागिरि नौमती बाजा समूह र पुनमगर समाज युकेका अध्यक्ष विल पुर्जामगरको सक्रियतामा सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित रकम एक कार्यक्रमकाबीच रोकालाई हस्तान्तरण गरिएको छ ।

“आर्थिक अवस्था कमजोर भएर उपचारबाट वञ्चित भएको जानकारी पाएपछि सबैले सहयोग गर्नुभयो ।” “मानवीय सेवामा युकेमा रहेका नेपालीले मन खोलेर सहयोग गर्नुहुन्छ” उहाँले भन्नुभयो । बेलायतमा रहेका धौलागिरिवासीको पहलमा स्थापना भएको नौमती बाजा समूहले लोपोन्मुख कला र संस्कृतिको संरक्षणका साथै सामाजिक कार्यमा समेत सहयोग गर्दै आइरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजनकर्ता पुर्जामगरले रोकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।