बाह्र किलो चाँदीसहित एक जना पक्राउ

चैत १०, सुनसरी-सुनसरी प्रहरीले ठूलो परिमाणमा १२ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको सार्वजनिक बसमा चेकजाँच गर्दा सुनसरी सदरमुकाम इनरुवा–६ बाट प्रहरीले गएराति सो परिमाणमा अवैध चाँदीसहित सोमबार पक्राउ परेका व्यक्तिलाई बरामद भएको चाँदीसहित आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बाह्र किलो १२५ ग्राम चाँदीसहित बारा जिल्ला गमहरिया–४ निवासी अन्दाजी ७२ वर्षका बङ्कर साह पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ ।

बारा जिल्लाबाट विराटनगरतर्फ आइरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा सो परिमाणको चाँदीसहित साहलाई पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ । पाउजु २९४ थान, डरकस १८ थान, किरिङ सात थान, लोटा दुई थान, कचौरा दुई थान, गिलास दुई थान, प्लेट दुई थान र पाउजुमा लगाउने झुम्का तीन किलो रहेको सुनसरी प्रहरीले जनाएको छ ।

झन्डै १२ किलो परिमाणको चाँदी बरामद भएकाले रु सात लाख ४० हजारबराबरको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।प्रहरीले जिल्लामा सुरक्षा सतर्कता र निगरानी बढाएपछि एकपछि अर्को अपराधका आरोपी तथा तस्करहरू पक्राउ पर्न थालेको सुनसरी प्रहरीले जनाएको छ । यसअघि पनि सुनसरीको बबिया क्षेत्रबाट चार किलो चाँदीसहित एक जना तस्कर पक्राउ परेका थिए ।