जिप पल्टिँदा १७ जना घाइते, ८ जना गम्भिर

चैत ८, तनहुँ-  तनहुँमा जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । तनहुँको भिरकोट गाविस वडा नं २ को दुलेगौँडामा ग १ ज ५७ ३२ नम्बरको जिप दुर्घटना हुँदा भिरकोटबाट यात्रु लिएर भिमादतर्फ आउँदै गरेकोे जिप अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा भिरकोट–६ की जुनामाया माझी, सोही ठाउँका चन्द्रबहादुर माझी, नरिमाया रानाभाट, रिखा रानाभाट, अस्मिता रानाभाट, दलबहादुर रानाभाट, विश्वास रानाभाट, नेत्रबहादुर रानाभाट, कृष्णा रानाभाटलगायतको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य अवस्थाका घाइते सङ्गीता रानाभाट, माया रानाभाट, श्रीमाया नेपाली, कमल नेपाली, वसन्ती आले, पदम आलेलगायतको भिमादस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तीव्र गतिमा गुडेका कारण अनियन्त्रित भई जिप पल्टेको बताइएको छ । जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।