वेस्ट इन्डिज न्युजिल्याण्डसंग १ सय ४३ रनले पराजित,गुप्टिलले रचे इतिहास

चैत ७, काठमाडौँ – विश्वकप क्रिकेटको अन्तिम क्वाटर फाइनलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई १ सय ४३ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। न्युजिल्याण्डको विलिङटन मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९३ रनको विशाल योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजले ३१ औं ओभरमा सबै विकेट गुमाएर २ सय ५० मात्र रन बनाउन सक्यो।

न्युजिल्याण्डका लागि सुरुवाती ब्याट्सम्यान मार्टिन गप्टिलले अविजित २ सय ३७ रन बनाए। यो विश्वकपको कुनै पनि संस्करणमा एकै इनिङमा बनाएको सबैभन्दा बढी रन हो। यस अघि विश्वकपको यही संस्करणमा वेस्ट इन्डिजका क्रिस गेलले सर्वाधिक २ सय १५ रनको रेकर्ड बनाएका थिए।

गप्टिलको स्कोर एकदिवसीय क्रिकेटमा दोस्रो उच्च स्कोर हो। भारतका रोहित शर्माका नाममा एकदिवसीयको उच्च स्कोरको रेकर्ड छ। उनको सर्वाधिक स्कोर २ सय ६४ रन हो।

३ सय ९४ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्न सकेन। वेस्ट इन्डिजका लागि सबैभन्दा बढी रन क्रिस गेलले बनाए। उनले ३३ बल खेल्दै ६१ रन बनाए। त्यस्तै जेसन होल्डरले ४२ र कार्टरले ३२ रनको पारी खेले। न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए भने टीम साउदी र डेनियल भिटोरीले २/२ विकेट हात पारे।

टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डका कप्तानको विकेट सुरु मै लिए पनि वेस्ट इन्डिजले लगातार विकेट लिन सकेन। ४ रनको व्यक्तिगत स्कोरमा क्याच ड्रप भएका गप्टिलको आक्रामक ब्याटिङले न्युजिल्याण्डलाई सेमिफाइनल पुरायो। गप्टिलले १ सय ६३ बल खेल्दै २४ चौका र ११ छक्का प्रहार गरेका थिए। न्युजिल्याण्डका लागि रोस टेलरले ४२ रनको पारी खेले।

न्युजिल्याण्डले पहिलो सेमिफाइनल मार्च २४ मा अकल्याण्डको इडन पार्क मैदानमा सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र भारत मार्च २६ मा सिड्नी क्रिकेट मैदानमा भिड्नेछन्।