शान्ति या द्वन्द्व सत्तापक्षको हातमा छ: सिपी गजुरेल, उपाध्यक्ष (नेकपा-माओवादी)

हिजो आज केही राजनीतिक दलहरुमा एकीकरणको लहर छाएको छ । राप्रपा र राप्रपा नेपाल, नेपाल संघीय समाजवादी, लगायतका दलहरु बिचको लहर चलीरहँदा त्यसको संकेत माओवादीहरुमा पनि परेको हो ?
एकिकरणको चाहना र त्यस अनुरुपको वातावरण बनिरहेको छ । जुन कुरा पछिल्लो राजनीतिक स्थितीले पैदा गरेको हो । माओवादी एकता आजको आवश्यकता पनि हो । त्यति लामो समय जनयुद्द लडेर परिवर्तन, त्याग सबै कुरा गरेर अहिले वालुवामा पानी हाले जस्तै प्रतिफल हाता लागेको छ । जुन शहीदको सपना र हाम्रो निती विपरित छ । नेपाली जनताले आफुलाई पुरानै अवस्थामा रहेको महशुस गरिरहँदा एकीकरणको कुरा सान्दर्भिक भएको हो । यस अघि शान्ति प्रक्रिया र सेना समायोजनका एकै पटक गर्‍यौँ र अहिले न हामीसँग सेना छ न मुलुकमा शान्ति आयो । यो हातमा लाग्यो शुन्यको अवस्थाका कारण र हामीले गरेको संर्घषलाई सार्थक बनाउन पनि माओवादी शक्तिहरु मिल्नुको विकल्प छैन भन्ने हाम्रो निष्कर्ष हो ।

युद्दमा होमीएका हामी शान्ति प्रक्रियामा आयौँ । नयाँ संविधान जारी गर्ने लगायतका एकै साथ पुरा गर्ने भनिएका प्रतिवद्दता अपुरा रहे । न संविधान आयो न मुलुकमा विकासको मुल फुट्न सक्यो । यस्तो अवस्थामा अहिले सत्य निरुपण तथा मेलमेमिलाप आयोग एकपक्षिय बन्दै गयो । सर्वोच्चको फैसला पनि एक पक्षिय छ । युद्दमा दुवै पक्षबाट मार्ने र मर्ने काम भयो त्यसलाई मेलमिलाप गनुपर्छ भन्ने सहमती विपरित काम भइरहेको छ ।

एमाओवादी र नेकपा माओवादीले तय गरेको बाटो फरक फरक छ । यतिका बर्ष छुट्टै यात्रा गर्नुभयो आ-आफ्नै कार्यदिशामा । अब कसरी एउटै मुल बाटोमा आउन सक्नुहोला र खै ?
तपाइको कुरामा म शतप्रतिशत सहमत छु । हो हामीले धेरै बर्ष सँगै यात्रा गर्यौ बिचमा हामी छुट्यिौँ । यसबीचमा पनि प्रचण्डले हामीसँग आउँदा एउटा कुरा र सत्तापक्षसँग जाँदा अर्को कुरा गर्ने काम गरीरहेका छन् । उनले २ वटा डुंगामा टेकेर यात्रा गर्ने काम गरिरहेका छन् । जुन गर्नु नहुने काम हो । पहिलो संविधानसभा प्रचण्ड र बाबुरामकै नेतृत्वमा भंग भएको नजिर हुँदा हुँदै पनि उहाँहरु क्लियर हुन नसक्नु बिडम्बना हो । शहीदका परिवार, पार्टी र नेपाली जनतालाई प्रचण्डले जवाफ दिन सक्नु पर्छ ।

यहाँहरुले पार्टी एकताको पहल गरिरहँदा यहाँहरुकै एउटा हिस्सा एमाओवादी संविधानसभा भित्र छ र तपाइहरु बाहिर हुनुहुन्छ । यस्तो अवस्थामा कसरी मिलन हुन सक्छ ?
हामीसँगका छलफलमा प्रचण्डले संविधानसभा छाडेर बाहिर आउने विषयमा पनि कुरा भइरहेको छ । हामीले दोश्रो संविधानसभामा भाग नै लिएनौँ । हामीले संविधानसभाको नभई यसको प्रक्रियाको बिरोध गरेका हौँ । जब बाबुराम र प्रचण्ड जीहरुले अघिल्लो संविधानसभाको विघटन गर्नुभो त्यपछि नै हामीलाई यो प्रक्रियाले संविधान ल्याउन सक्दैन र जनताले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् भनेर नै उहाँहरुबाट नीतिगत कार्य नमिलेको भनेर बाहिरिएका हौँ । हामीलाई यो संविधानसभासँग कुनै लेनदेन छैन । न यसले शान्ती दिन न संविधान । हामी बाहिर रहँदा प्रचण्डले संविधान सभा छाड्ने नछाड्ने भन्ने उहाँहरुको कुरा हो ।

तपाइहरुले संविधानसभिाका लागी भनेर यत्त्किा बर्ष सम्म लड्नुभो, संविधानसभा भित्र हुँदा पनि खासै रचनात्मक कार्य गर्न सक्नुभएन । तपाइहरुको नेतृत्वमा पनि २ पटक सरकार गठन भएको हो । अब एमाओवादीलाई मात्रै दोष थोपरेर कसरी एकता सम्भव छ ?
हामीले एमाओवादीसँग अहिल्यै एकता गर्ने भन्ने होइन । अहिले दुई पार्टीको एकता कमिटी मात्रै बनेको छ । अहिलेको आन्दोलन माओवादी आन्दोलन समापन पार्ने भुमिकालाई सामना गर्न एकताको आह्वान हो । उहाँहरु संविधान सभा भित्र हुनुहुन्छ हामी बाहिर छौँ । जुन फरक कुरा हो । तर सरकारले सत्य निरुपण मेलमेलाप आयोग गठन, सर्वोच्चको निर्णय लगायतका विषयमा हामी छौँ र हुनेछौँ । ति मुद्दा सबैलाई लाग्ने भएपछि हाम्रो कार्यगत एकताको मुद्दाका लागी हामी लड्न लागेका हौँ ।

द्वन्द्वकालको मुद्दाले पो यहाँहरुलाई नजिक्याएको हो ?
हो तत्कालै हाम्रो पार्टी एकता भन्दा पनि कार्यगत एकताका लागी पहल हो । त्यसमा पनि मत विभाजित छ । तर द्वन्द्वकालको मुद्दा उचालेर सरकार र सर्वोच्च अदालतले यो अवस्था श्रृजना गरेका हुन् ।

यहाँहरुको दलले एमाओवादीसँग विभिन्न ६ वटा शर्तहरु राखेको छ । उनीहरुले नमान्ने संभावना पनि प्रशस्तै छ नि हैन ?
पार्टी एकता अहिलेको आवश्यकता हो । प्रचण्डले सार्वजनिक स्थलमा पनी मोहन बैद्य नेतृत्वसँगको आफ्नो साँठगाँठ बताउँदै आएका छन् । हेटौँडा महाधिवेशनले बोकेको कार्यभार बैद्यले नमानेकाले अहिले परिस्थिती असहज भएको उनले भनेका रहेछन् । हामी केही बुँदामा र प्रचण्ड केही बुँदामा लचिलो भए एकिकरण असहज पनि भएन ।

संविधानसभाको प्रक्रिया संविधान सभाको भविष्य के होला ?
संविधानसभाको औचित्य सकिइसकेको छ । संविधानसभा बाहिरका दलले यसको स्वामित्व कुनै पनि शर्तमा मान्दैनन् । भित्रका केही दलले पनि सहमती बेगर नमान्ने ठहर गरेका छन् । जसका कारण संविधानसभा आँफैमा विभाजित छ । विभाजित संविधानसभाले केहि गर्न सक्दैन । यदि संविधानसभाबाट नै संविधान दिने दलहरुको मनसाय हुन्थ्यो भने अघिल्यै संविधानसभालाई संविधान जारी गर्न कुनै असहजता थिएन । दोश्रो संविधानसभाको संविधान जारी गर्ने पूव निर्धारित समयमा आउन सक्नुपर्थ्यो । त्यसमा पनि आएन र अहिले जेठ १५ भनिएको छ । यसको पनि कुनै तुक छैन ।

लेकतन्त्रमा बहुमतको कदर गरिन्छ । यदी बहुमतका आधारमा कांग्रेस एमालेले संविधान जारी गरे भने नि ?
हो नियम नियमावली मान्ने हो भने उहाँहरुको हातमा बैधानिकता छ । यो कुरा दुनियाभर चल्दै आएको पनि छ । त्यसरी दुई तिहाईको बहुमतको आधारमा संविधान आए पनि हामी सुरुवाती देखि नै प्रक्रियाका बिरोधीलाई त्यो मान्य हुनेछैन ।

तपाईहरु जुन उद्देश्य लिएर फुट्न भो त्यो पनि बचेन नी ?
यसमा हाम्रा पनि केही कमी कमजोरी भए होलान् । जुनलाई हामी आत्मसाथ गरेर अगाडी बढ्छौँ । तर तपाइको प्रश्नको एउटै जवाफ मिडियाले हामीलाई कहिल्यै सहयोग गरेनन् । उनीहरुले कहिल्यै संविधान बन्नु हुँदैनन् भनेनन् । हामीले मुलुकको राष्ट्रिय समस्या उठाउँदा मिडियाले असहयोग गरे ।

यहाँहरुले भने जस्तो गणतन्त्र कसरी सम्भव छ त ?
हामीले लेँडे ढिपी गरेर हाम्रै मात्रै कुरा हुनु पर्‍यो भनेका छैनौँ । उहाँहरुले सके भोली नै संविधान ल्याएर देखाउनुहोस् न हामी चुप लागेर बस्छौँ । १० बर्ष सम्म मुलुकको धुकुटी झ्वाम पार्ने यो शैलीले त भएननी । अब वार की पार हुनुपर्यो भन्ने हाम्रो माग हो । कि उहाँहरुले भनेजस्तो दुई तिहाईले पेलेरै जानु पर्‍यो या सहमतीबाट नबनेपछी सबैको स्वामित्व नभएपछि नयाँ ढंगले सहमती खोज्न जानु पर्‍यो । उहाँहरुले पुरानै इतिहास बल्झाउने या बाहिरका शक्तिलाई समेटेर लैजाने भन्ने कुरा सत्तासाझेदारकै हातमा छ ।

तपाइलाई प्रचण्ड पक्षहरुले राजावादीसँग मिल्न गएकाले पार्टी फुटेको भन्छन नी ?
प्रचण्डजीका कामरेडहरु बेलाबेलामा बहकिन्छन् । उनीहरुको आरोपको जवाफ हामी शब्दले होइन व्यबहारले अवश्य दिन्छौँ नै । अहिले हामी राष्ट्रिय संकट टार्न तर्फ लागेकाले कस्ले हामीलाई राजावादी, भारत निकटस्थ भने भन्ने कुरासँग अर्थ नराखी बेला आएपछि जवाफ दिनेछौँ ।

संविधानसभाबाट संविधान ल्याउने भनेर यतिका बर्षसम्म मर्ने र मार्ने जस्तो संवेदनशिल विषयमा लाग्नु भो तर बेला आएपछि आफ्नै मुद्दालाई छाड्दा उल्टो बाटो हिँडेको महशुस हुन लागेको हो ?
हामी दोश्रो संविधानसभासँग सम्बन्धित छैनौँ । हामी पहिलो संविधानसभाका लागी लडेका थियौँ । त्यसलाई जबरजस्ती खारेज गरियो । हामी संविधानसभाको भन्दा पनि मुलत यो प्रक्रियाको बिरोधी हौँ । यो प्रक्रिया नै नसच्याएसम्म हाम्रो यससँग लेनदेन छैन ।

अब के हुन्छ त मुलुकमा ?
सत्तासाझेदारले चाहे शान्ती, संविधान सबै कुरा आउँछ । उनीहरुले शान्ती, विकास चाहन्छन् या द्वन्द्व भन्ने उनीहरुको केही दिनको ब्यवहारले नै देखाइहाल्छ ।