सभामुख र प्रमुख राजनीतिक दलका शीर्ष नेताविच छलफल

चैत ४, काठमाडौं- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै हुनुहुन्छ ।
विवादित विषयमा सहमति जुटाउने विषयमा दलहरूबीच सार्थक संवाद हुन नसकेको र विवाद कायमै रहेको भन्दै सभाध्यक्षले आज दिउँसो १ बजेका लागि छलफल तय गर्नुभएको हो ।
गत माघ २९ गते अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगित भए पनि संविधानका विवादित अन्र्तवस्तुमा सहमति जुटाउनेतर्फ कुनै पनि पहल नभएको भन्दै सभाध्यक्ष नेम्वाङ असन्तुष्ट बन्दै आउनुभएको छ ।
पछिल्लोपटक दलहरूबीच भएको संवादले पनि कुनै निष्कर्ष निस्कन नसकेको, सत्तारुढ दलले प्रक्रियाका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको र एकीकृत नेकपा(माओवादी) नेतृत्वमा रहेको ३० दलीय मोर्चाले आन्दोलन घोषणा गरेको सन्दर्भमा आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा टुङ्गो लगाउन बैठक गर्न लागेको सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।