सुशासन कायम गर्न नसकेको भन्दै सभासदद्वारा प्रधानमन्त्रीको आलोचना

चैत ३, काठमाडौ- मुलुकको सुशासन स्थापनाका लागि सरकारका नीति तथा कार्ययोजना कार्यान्वयन पक्ष फितलो भएको भन्दै सभासदले प्रधानमन्त्रीको आलोचना गरेका छन् ।व्यवस्थापिका संसदको सुशासन समितिमा सरकारको चर्को आलोचना भएको हो । प्रधानमन्त्री सुशील कोइराला आफैले भ्रष्टाचार भएको अभिव्यक्ति दिने तर नियन्त्रणमा पहल गर्न नसक्ने भन्दै नेपाली कंग्रेसका सभासद अर्जुननरसिंह केसी, ध्यानगोविन्द रञ्जित लगायतले प्रधानमन्त्रीको चर्को आलोचना गरेका हुन् ।

स्वतन्त्र सभासद अत्तर कमाल मुसलमानले भ्रष्टाचार भयो भनेर मात्रै नहुने भन्दै भ्रष्टाचार नियन्त्रण निति कार्यान्वयन नगरेर सरकारले आफ्नो कमजोरी प्रदर्शन गरेको आरोप लगाउनुभयो ।त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद दिलनाथ गिरिले प्रधानमन्त्रीले सस्तो लोकप्रियता कमाउन मिडियामा अभिव्यक्ति दिने तर नितिगत भष्ट्राचार नियन्त्रण गर्न पहल नगरेको आरोप लगाउनुभयो ।सबै दलका शीर्ष नेता सहित ५२ सदस्य रहेको समितिको मंगलबारको बैठकमा जम्मा १४ जना सदस्य मात्रै उपस्थित थिए ।

प्रधानमन्त्रीलाई समितिमा बोलाउने नबोलाउने विषयमा छलफल गरी निर्णय गर्नका लागि बोलाइएको बैठकमा शीर्ष नेता अनुपस्थित रहेपछि उपस्थित सदस्यले उनीहरुको गैहरजिम्मेवारी भुमिका स्वीकार्न नसकिने भन्दै आलोचना गरेकाथिए ।समितिको मंगलबार बसेको बैठकका प्रधानमन्त्री सुशील कोइरालाको उहाँकै पार्टीका सभासदले समेत तिखो आलोचना गरेका थिए । यसैबीच बैठकले प्रधानमन्त्रीलाई समितिमा बोलाउने जिम्मेवारी समिति सचिवालयलाई दिएको छ । बैठकले राष्ट्रिय स्तरका योजना निर्माण, कार्यान्वयन र पारदर्शिताबारे छलफल गर्न आगामी १० गते योजना आयोगका पदाधिकारीलाई समितिमा बोलाएको छ । त्यसैगरी गैरकानूनी रुपले व्यक्तिगत सम्पत्ति रोक्का भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित उपसमितिले पनि आफ्नो प्रतिवेदन समिति बैठकमा बुझाएको छ ।