अब गुणस्तरको आधारमा राजमार्गका होटलको वर्गीकरण हुने

चैत २, काठमाडौं-   अब गुणस्तरको आधारमा राजमार्गका होटलको वर्गीकरण हुने भएको छ । होटलको गुणस्तरियताबारे प्रश्न उब्जिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवनको राजमार्गका होटलको स्तर वर्गीकरण गरेको छ । चितवनको मुग्लिन र नारायणगढ क्षेत्रमा दुई चरणमा अनुगमन गरी यसरी स्तर वर्गीकरण गरिएको चितवनका खाद्य निरीक्षक नवीन देउजाले बताउनुभयो । अहिलेसम्म दुई चरणमा गरी करिब ७० भन्दा बढी होटलको अनुगमन गर्ने क्रममा १६ वटा होटल मात्र उत्तम भेटिएका छन् । पहिलो चरणमा चितवनको मुग्लिन क्षेत्रको अनुगमन गरी १० वटा होटलको स्तर मापन भएको थियो । अहिले नारायणगढमा थप ६ वटा होटल उत्तम ठहरिएको विभागका अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म देशका विभिन्न क्षेत्रका ४०० होटलको वर्गीकरण भइसकेको छ । अङ्क मापनका आधारमा होटलको स्तर निर्धारण गरिन्छ । ९० अङ्कभन्दा माथि ल्याउने उत्तम होटलमा पर्दछन् । ती होटलमा विभागले हरियो स्टिकर लगाउने गरेको छ । यस्तै ७० देखि ९० अङ्क पाउने मध्यम स्तरको होटल मानिन्छ । उक्त होटललाई पहेँलोभित्र एउटा रातो धर्सो भएको स्टिकर टाँसिन्छ । पचासदेखि ७० अङ्क ल्याउने होटललाई न्यून स्तर मापन गरेर ती होटलमा पहेँंलोभित्र दुई वटा रातो धर्सो भएको स्टिकर टाँसिन्छ । आज भएको अनुमगनमा चितवनको पोखरा बसपार्कमा रहेको होटल सतनचुली, इमेज, कलस र कङ्गारु तथा नारायणगढमा रहेको गङ्गोत्री र डि मामाले हरियो स्टिकर पाएका छन् । यस्तै अन्य २६ होटल दोस्रो तहमा र १० भन्दा बढी होटल तेस्रो दर्जामा परेका छन् । केही होटल भने दर्ता नभएको पाइएको छ । रातो स्टिकर पाउने होटल ५० भन्दा कम अङ्क पाउछ । त्यसलाई बन्द नै गर्नुपर्ने हुन्छ ।