ब्राजिलमा राष्ट्रपति विरुद्ध लाखौं जनता सडकमा

चैत २, काठमाडौं- ब्राजिलमा दशौं लाख मानिस राष्ट्रपति डिल्मा रुसैफकाविरुद्ध सडकमा उत्रिएका छन् ।

एक तेल कम्पनीको मामलामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै राष्ट्रपतिविरुद्ध उनीहरु प्रदर्शनमा उत्रेका हुन् । रुसैफलाई महाभियोग लगाउन प्रदर्शनकारीले माग गरेका छन् ।
राज्य नियन्त्रित पेट्रोल कम्पनी पेट्रोबास घोटालाकाण्डमा राष्ट्रपति कुनै न कुनै रुपमा संलग्न रहेका आरोप विपक्षीहरुले लगाएका हुन् ।
रुसैफ उक्त कम्पनीको प्रमुख भएका बेलामा धेरैजसो घोटाला भएको आरोप विपक्षी दलको छ ।
राष्ट्रपति रुसैफले भने उक्त काण्डमा आफ्नो संलग्नता अस्वीकार गर्दै यसबारे न्यायिक निकायबाट छानबिन गर्न तयार रहेको बताएकी छिन् ।
सरकारले भने तेल कम्पनीमा भएको अनियमितता छानबिन गर्ने र दण्डहीनता अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रदर्शनकारीले राजधानी ब्रासिलियाका अतिरिक्त देशका बाइसै राज्यमा एकसाथ प्रदर्शन गरेका थिए ।
साओपाउलोमा भएको प्रदर्शनमा मात्र पाँच लाखभन्दा बढी मानिस सहभागि रहेको बताइएको छ ।
राष्ट्रिय फुटबल टीमको जर्सी लगाएर सहभागि उनीहरु हातमा रष्ट्रिय झण्डा हल्लाउँदै सडकमा ओर्लिएका थिए । एजेन्सी