जुम्ला दुर्घटनामा मृत्यु हनेको संख्या १८ पुग्यो, १० बढी घाइते (अपडेट)

चैत २, सुर्खेत-  जुम्लाबाट कालिकोटका लागि छुटेको यात्रु बस सोमबार बिहान जुम्लाको रारालीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी १० यात्रु गम्भीर घाइते भएका छन् । आइतबार बिहानै कालिकोटका लागि छुटेको ना ४ख ४९७० नम्बरको लोकल बस जुम्लाको रारालिहीमा दुर्घटनामा परेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बस सडकबाट तिलानदीमा खसेको छ। १३ जनाको घटनास्‍थलमै र पाँच जनाको उपचारका लागि जुम्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडीका चालक र सहचालक दुवैको पनि ज्यान गएको जिल्‍ला प्रहरी कार्यलय जुम्लाका निरीक्षक इन्‍द्रबहादुर साउदले बताए। घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि जुम्ला सदरमुकाम खलंगामा पुर्‍याइएको छ। यस्तै ५ जना घाइतेको भने घटनास्थलमै रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।बसमा २९ जना यात्रु सवार रहेको र एक जना यात्रुको भने प्रहरीले सकुशल उद्धार गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीएसपी मिनबहादुर रावलले जानकारी दिए। तर, स्थानीय बासिन्दाले भने ३७ जना यात्रुको चलानीसहित बस छुटेको बताएका छन्। घटनास्थल जुम्ला सदरमुकामबाट टाढा भएकाले पनि मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बस कर्णाली राजमार्ग अन्तर्गत जुम्लाबाट कालीकोटको नाग्म बजारसम्म स्थानीय रुटमा सञ्चालन हुने गर्दथ्यो ।दुर्घटनाको एकीन कारण खुल्न नसकेपनि जिल्ला प्रहरी कार्यालय जुम्लाले भने हिलोमा चिप्लिएर बस दुर्घटना भएको अनुमान गरेको छ। आइतवार साँझदेखि परेको पानीका कारण सडक हिलाम्य हुँदा बस चिप्लिएको हुनसक्ने प्रहरीले जनाएको छ ।