उपनिर्वाचनमा एमाओवादी उम्मेदवार केसी

चैत १, बागलुङ-  एकीकृत नेकपा माओवदीले बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनको टिकट पार्टी स्थानीय नेता कृष्णबहादुर केसीलाई दिएको छ । यसअघि पार्टी प्रवक्ता दीनानाथ शर्मा उठ्ने भने पनि अन्तिम समयमा आएर उनले स्वास्थ्यको कारण देखाउँदै नउठ्ने बताएपछि आइतबार बसेको पार्टी पदाधिकारीको बैठकले केसीलाई उठाउने निर्णय गरेको हो । विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा लागेका केसी अखिल क्रान्तिकारीको केन्द्रीय कोषध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेर राम्रो काम गरेका उनी स्थानीय रुपमा लोकप्रिय नेता मानिन्छन् । उनलाई एमाओवादी मोर्चाको संयुक्त उम्मेदवारका रुपमा प्रस्तुत गर्दैछ । यस क्षेत्रका सभासद् हरि खड्काको गाडी दुर्घटनामा निधन भएपछि चैत २८ मा उपनिर्वाचनको घोषणा गरिएको हो । कांग्रेसले स्वर्गीय खड्काकी पत्नी चम्पा खड्का र एमालेबाट बैकल्पिक केन्द्रीय सदस्य मना केसीलाई उमेदवारका रुपमा प्रस्तुत गरेका छन् ।