बजार अनुगमनको अभावमा मारमा आम उपभोक्ता

चैत १,काठमाडौँ – आज उपभोक्ता अधिकार दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइरहँदा उपभोक्ता तथा उपभोक्ता अधिकारकर्मीले समयमा बजार अनुगमन नहुँदा ठगीमा पर्नुपरेको गुनासो गरेका छन् । विगत लामो समयदेखि बजारको अनुगमन हुन नसक्दा आम उपभोक्ता नुनदेखि सुनसम्ममा ठगीमा पर्दै आएको गुनासो गर्दै उपभोक्ता तथा उपभोक्ता अधिकारकर्मीले बजार अनुगमनको आभावमा कालोबजारी तीव्र रुपमा बढेको उनीहरुको गुनासो छ । ‘स्वच्छ खाद्यान्नको अधिकार’ भन्ने नाराका साथ उपभोक्ता दिवस मनाइरहँदा बजारमा खाद्यान्नमा मिसावटयुक्त गुणस्तरहीन सामानको बिक्री वितरणसमेत ह्वातै बढेको काठमाडौ अनामनगरका घनश्याप परिश्रमीले बताए ।

उनले भने अधिकांश पसलमा मूल्य सूची छैन्, बजारमा सबै सामानको निर्धारित मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण हुँदै आए पनि यसको सम्बन्धित निकायबाट बजार अनुगमन नहुँदा व्यापारीहरुको मनोमानी बढेको उनको गुनासो छ । स्थानीय ग्यास बिक्रेताले खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै आए पनि बजार अनुगमन गरी त्यस्ता ग्यास बिक्रेतामाथि कारबाही हुन नसक्दा अन्य क्षेत्रका व्यापारीकोसमेत मनोबल बढ्दै गएको स्थानीय उपभोक्ताको गुनासो छ । त्यस्तै, यातायातका साधनले निर्धारित भाडाभन्दा बढी यात्रुबाट असुल्दै आए पनि त्यसको अनुगमन हुन सकेको छैन । यसरी उपभोक्ता ठगिरहँदा पनि नियन्त्रण, नियमन, अनुगमन गर्ने निकाय निरीह जस्तै बनिरहेका छन् ।