आज मार्च १५, विश्व उपभोक्ता अधिकार दिवस

चैत १ काठमाडौं-आज विश्व उपभोक्ता अधिकार दिवस । नेपालमा पनि सरकारी तथा विभिन्न संघसंस्थाको आयोजनामा विभिन्न कार्यक्रम हुँदैछ । वाणिज्य विभागले पनि मध्यान्ह एक कार्यक्रम राखेको छ भने उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने उपभोक्ता अधिकार मंचलगायत विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।
सन् १९६२ मार्च १५ मा विश्वमै पहिलो पटक तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले अमेरिकी संसदमा वस्तु वा सेवा लिने प्रत्येक उपभोक्तालाई सुरक्षा, सूचना, सुनुवाइ र छनौट गरी चार अधिकार हुने र यी अधिकार कुनै व्यापारीले हनन गर्न नपाइने भन्ने प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ । राष्ट्र संघले सन् १९८५ देखि यो दिवस मनाउने निर्णय गरेको थियो । वस्तु र सेवाको उत्पादन, भण्डारण र वितरणको सन्दर्भमा ऐन, कानुन र कार्ययोजनाले उपभोक्ताहरूको हकहित र न्याय सुनिश्चित गरेता पनि थुपै्र अध्ययन र अनुगमनले त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको देखाएका छन् ।
उपभोक्ता संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसंघीय मार्ग निर्देशिका, १९९९ र राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको उपभोक्ता मानवअधिकार संरक्षण तथा सम्वद्र्धनका लागि अनुगमन निर्देशिका–२०६८ ले उपभोक्ताको हकहितको सवाललाई मानव अधिकारको क्षेत्राधिकारका रूपमा स्थापित गरिसकेको छ ।