१० दिनको अवधिमा सर्लाहीमा दुई बालिका र एक महिला बलात्कृत

फागुन ३०,सर्लाही- बलात्कारबिरुद्ध बेटी बचाउ अभियान सुरु भैरहेका बेला सर्लाहीमा बलात्कारका घटना धमाधम सार्वजनिक हुन थालेका छन् । पछिल्लो १० दिनको अवधिमा सर्लाहीमा तीन जनामाथि बलात्कार तथा बलात्कारको प्रयास भएको घटना सार्वजनिक भएको हो । प्रहरीले दिएको जानकारी अनुसार सर्लाहीको धनकौल पश्चिममा २७ वर्षीया महिला, धनकौल पूर्वमा चार वर्षीया बालिका र नेत्रगंजमा ११ वर्षीया बालिका छिमेकीबाटै दुर्व्यवहारमा परेका हुन् ।

तीनवटै घटनाका आरोपीलाई पक्राउ गरी कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार पश्चिम धनकौल ६ मा गएको फागुन २२ गते स्थानीय २७ वर्षीया महिला घाँस काट्दै गर्दा बलात्कृत भएको घटना भर्खर सार्वजनिक भएको छ । त्यस्तै फागुन १९ गते सर्लाहीको धनकौल पूर्वकी एक चार वर्षिया बालिकामाथि बलात्कार भएको खुलासा भएको छ । त्यसैगरी फागुन २७ गते सर्लाहीको नेत्रगंजमा ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको थियो ।