बागलुङ–१ मा एमाओवादीका शर्माले उम्मेदवारी नदिने

फागुन ३०,काठमाडौँ- एकीकृत नेकपा माओवादीले वागलुङ क्षेत्र नम्बर–१ का लागि उम्मेदवार चयन गरेका पार्टी प्रवक्ता दीनानाथ शर्माले उम्मेदवारी नदिने भएका छन् ।सभासद हरिबहादुर खड्काको दुर्घटनामा परी मृत्यु भएपछि रिक्त क्षेत्र नम्बर –१ मा उपनिर्वाचन हुने लागेको हो । एकीकृत माओवादीले उक्त उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शर्माले अन्तिम समयमा आएर स्वास्थ्यको कारण भन्दै उम्मेदवार नदिन वक्तव्यमार्फत जानकारी गराएका हुन् ।

 

शर्माको वक्तव्य जस्ताको तस्तै

एकीकृत नेकपा (माओवादी)को तर्फबाट मलाई बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि उम्मेदवार बनाएको सबैलाई जानकारी नै छ । निर्वाचनका लागि मलाई उम्मेदवार बनाउने निर्णय गर्ने मेरो पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु । निर्वाचनका लागि सम्पूर्ण तयारी सहित निर्वाचन क्षेत्रमा प्रस्थान गर्दै गर्दा बाटोमा उच्च रक्तचाप र मुटुको समस्या बढेकाले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भैरहेको छ । उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ । अचानक स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा मलाई अत्यन्त दुःख लागेको छ । निर्वाचनमा सहभागी हुन नसकेकोमा निर्वाचनका लागि प्रेरित गर्ने मेरो पार्टी, समर्थक, शुभचिन्तक, शुभेच्छुक, आफन्तजन र बागलुङ क्षेत्र नं. १ का सम्पूर्ण मतदातासामु म दुःख व्यक्त गर्दछु । आफु उम्मेदवार बन्न नसके पनि एकीकृत नेकपा (माओवादी)का उम्मेदवारलाई मतदान गरी विजयी बनाउनु हुन बागलुङ क्षेत्र नं. १ का सबै मतदाता सामु विनम्र अनुरोध गर्दछु ।
दीनानाथ शर्मा
२०७१-११-३०