मुख्य चार दलको बैठक निष्कर्षविहीन, विपक्षी मोर्चा आन्दोलनमा जाने

फागुन ३०,काठमाडौँ- संविधानका विवादित विषयमा सहमति खोज्न बसेको सत्तारूढ दल र प्रतिपक्षी मोर्चाबीचको वार्ता विना निश्कर्ष सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको औपचारिक वार्तामा दुवै पक्षले पूरानै अडान नछाडेपछि बैठक विना निश्कर्ष टुङ्गिएको हो । बैठकमा सत्तारुढ काँग्रेस एमालेले विगतको ९ बुँदे साझा प्रस्तावलार्ई नै सहमतिको आधार बनाउनुपर्ने अडान राखेपछि वार्ता सकारात्मक हुन नसकेको एकीकृत माओवादी सचिव वर्षमान पुनले बताउनुभयो । उहाँले सत्तापक्ष कात्तिकमा पेश गरेको ९ बुँदे प्रस्तावलाई आधार बनाउन खोजेकाले वार्ता सहमतिमा नपुगेको बताउनुभयो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दे एमाले उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमले प्रतिपक्षी दल सहमतिको लागि गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले प्रतिपक्षीहरुले आन्दोलन र वार्ता सँगसँगै अघि बढाएकाले संविधान लेखनका लागि उनीहरु गम्भीर नभएको टिप्पणी गर्नुभयो ।

सत्तँपक्षले अब केही दिनमै संविधानसभाको बैठक बोलाएर बहुमतीय प्रक्रियाबाट संविधान लेखनको काम अघि बढाउने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्रीले माघ ५ गतेको छलफललाई आधार बनाएर वार्ताको लागि आव्हान गरेपनि औपचारिक वार्तामा नौ बुँदे प्रस्तावलाई नै अगाडि सारेकाले सहमति हुन नसकेको प्रतिपक्षी नेताहरुले बताएका छन् ।औपचारिक वार्तामा कुरा नमिलेपछि विपक्षी मोर्चाले दोश्रो चरणको आन्दोलनमा जाने बताएको छ । मोर्चाले भोलि नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।