समुद्री आँधीका कैयौँ नागरिक प्रभावित

फागुन ३०,काठमडौँ-दक्षिण प्रशान्तमा अहिलेसम्मकै शक्तिशाली भनिएको चक्रवात समुद्री आँधी आएपछि हजारौं नागरिक प्रभावित भएका छन् । विकट क्षेत्रहरुमा दर्जनौं मानिसहरुको मृत्यु समेत भएको बताइएको छ । तर, त्यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । मौसमविदहरुले चक्रवातबाट आउने अविरल बर्षा र आँधि ध्वंसात्मक हुने भन्दै त्यसको खतराबाट जोगिन सबैलाई आग्रह गरेका छन् ।

मौसमविदहरुले खतराको सूचना जारी गरेपछि हजारौं नागरिकले आपतकालीन शरण मागेका छन् । किरिवाटी, सोलोमन, टुभालु लगायतका क्षेत्र चक्रवात आँधीबाट बढी प्रभावित भएका छन् । ति क्षेत्रमा घरहरु भत्किएको, रुखहरु ढलेर सडक अवरुद्ध भएको र सिसाका झ्यालहरु भएका घरहरुमा काठको फल्याक लगाएर बन्द गरेको दृष्य स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् । प्रतिघण्टा २५० किलोमिटर गतिको ‘पाम’ नामक आँधी भानुआटु प्रायद्वीपमा प्रवेश गरेको छ ।