दुई राप्रपा बिचको एकता प्रक्रिया लम्बिने

फागुन ३०,काठमडौँ-केही दिनदेखि जारी रहेको राप्रपा नेपाल र राप्रपाबीचको एकता प्रक्रिया लम्बिने देखिएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा बिचको  एकताको कार्यलाई अगाडि बढाउन दुई पार्टीले बनाएको वार्ता कमिटीले सोंचेअनुरुप काम गर्न नसक्दा लम्बिने संकेत देखिएको हो । राप्रपाका सहप्रवक्ता एवं वार्ता समितिका सदस्य किरण गिरीले राप्रपा नेपालले संवैधानिक राजसंस्थाको वकालत गरिरहेको र आफ्नो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकारिसकेकाले मिलनविन्दु भेटाउन प्रयास भइरहेको बताए । एकताका लागि दुवै पक्ष एकदमै सकारात्मक रहेको भन्दै वार्ता समितिको बैठक अर्को हप्ता बस्न सक्ने बताए । । राप्रपा नेपालका प्रवक्ता एवम् वार्ता समिति सदस्य राजाराम श्रेष्ठले भने आफूहरुको एजेण्डाका कारण देशको चौथो शक्ति बनेकोले त्यसलाई छोड्ने कुरा नभएको बताएका छन् ।  दुई पार्टीबीच प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएको भन्दै उनले फरक सैद्धान्त र विचारलाई मिलाउन जनमतसंग्रह वा महाधिवेशन विकल्प हुनसक्ने धारणा राखे ।