कांग्रेस–एमालेले एमाओवादी मोर्चासँग निर्णायक वार्ता गर्ने

फागुन २८,काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनसँग तत्काल निर्णायक वार्ता गर्ने निर्णय गरेका छन् ।कांग्रेस र एमालेको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भोलिसम्म एमाओवादी लगायतका विपक्षी दलसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको हो ।

दुई दलले आफूहरु शान्ति प्रक्रियाका सहयात्रीकाबीचमा सहमति गरेरै संविधान बनाउन प्रतिबद्ध रहेको र सहमतिका लागि माघ ५ गतेको अवस्थाबाट वार्ता गर्न तयार रहेको बताएका छन् । दुई दलले वार्ता र सहमतिका नाममा अहिलेको गतिरोधलाई धेरै समय नतन्काउने निर्णय पनि गरेका छन् ।बैठकले एमाओवादी लगायतका विपक्षी दलसँगको वार्तामा सहमतिका लागि हदैसम्मको लचकता अपनाउने र सहमति नभएको अवस्थामा दुई तिहाइ बहुमतको अवरुद्ध प्रक्रिया अगाडि बढाउन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी नेताले बताएका छन् ।

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले यसअघि वार्ता र सहमतिका लागि भन्दै दोस्रो चरणको आन्दोलन घोषणाको कार्यक्रम चैत १ गतेसम्मका लागि स्थगन गरेको थियो ।सत्तारुढ र विपक्षी दलबीच वार्ताका लागि भन्दै संविधानसभाको बैठक एक महिना पहिले अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएकामा त्यसयता सत्तारुढ र विपक्षी दल जम्मा एक पटक मात्र वार्तामा बसेका छन् ।