राप्रपा र राप्रपा नेपालबीच औपचारिक रुपमा एकीकरण प्रक्रिया सुरु

फागुन २७,काठमाडौँ – राप्रपा नेपाल र राप्रपाले पार्टी एकीकरणको प्रक्रिया औपचारिक रुपमा अघि बढाएका छन् । गणतन्त्र र संघीयताको पक्षधर राप्रपा तथा गणतन्त्र र संघीयताको कट्टर बिरोधी राप्रपा नेपालले वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि भन्दै पार्टी एकीकरणको औपचारिक प्रक्रिया अघि बढाएका हुन् ।राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरणका विषयमा आजवार्ता भएको छ । राप्रपा नेपालको संसदीय दलको कार्यालयमा भएको वार्तामा राप्रपा नेपालका ८ तथा राप्रपाका सात नेता सहभागी थिए । दुई दलले वार्तामार्फत एकीकरण प्रक्रिया अगाडि बढाउने सम्बन्धमा टिओआर बनाएका छन् ।पहिलो चरणको वार्ताकै क्रममा दुवै दलका नेता पार्टी एकीकरण हुनेमा धेरै आशावादी देखिएका छन् । दुवै पार्टीका वार्ता टोलीका संयोजकले दुई पार्टीको सैद्धान्तिक धरातल फरक भएपनि आपसमा धेरै कुरामा समानता रहेको भन्दै चाँडै नै पार्टी एकीकरण हुने दाबी गरेका छन् ।एकीकरणको प्रक्रियामा रहेका दुई दलका नेता नौ वर्षअघि एउटै पार्टीमा थिए । तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा सरकारमा सहभागिताको विषयलाई लिएर विवाद भएपछि तत्कालिन गृहमन्त्री कमल थापाले २०६२ साल पुस २६ गते राप्रपा टुक्र्याएर राप्रपा नेपाल गठन गर्नुभएको हो ।अहिले संविधानसभामा राप्रपा नेपालसँग २५ जना तथा राप्रपासँग १३ जना सभासद छन् । एकीकरण प्रक्रिया अगाडि बढाएका राप्रपा र राप्रपा नेपाल दुवैमा चर्को असन्तुष्टि छ ।राप्रपामा संस्थापन पक्षको विरुद्धमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पक्षले समानान्तर गतिविधि गर्दै आएको छ भने राप्रपा नेपालमा पनि असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय समिति नै बनाएको छ ।