घटनाका पीडितलाई सरकारले सबै किसिमको सहयोग गर्छ -प्रधानमन्त्री

फागुन २७,काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले धादिङको पीडा गाविसमा किटनाशक औषधि मिसाइएको गहुँको रोटी खाँदा ६ जनाको ज्यान जानेगरी भएको विपत्तिले आफूलाई स्तब्ध तुल्याएको बताउनुभएको छ ।पीडा घटनाका पीडित परिवारलाई राहतको माग गर्दै आज बिहान ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेको विभिन्न दल सम्बद्ध धादिङका नेताको टोलीसँग प्रधानमन्त्री कोइरालाले किटनाशक औषधि मिसाइएको गहुँको रोटी खानुपर्ने हदसम्मको गरिबीले आफूलाई दुख लागेको बताउनुभयो । उहाँले पीडित परिवारलाई सरकारले सबै किसिमको सहयोग गर्ने बताउनुभयो ।

गएको सोमबार धादिङको पीडा गाविसको वडा नम्बर ८ स्थित पुकुनमा किटनाशक औषधि मिसाइएको गहुँ पानीले पखालेर पिठो पिंधी रोटी खाँदा टेकबहादुर स्याङतानको घरका ६ जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा उपचार भैरहेको छ । प्रधानमन्त्री कोइरालाले यसअघि विषाक्त गहुँ पिसिएको मिलमा लगत्तै गहुँ र कोदो पिसानी गरी त्यसको पिठोबाट तयार गरिएको रोटी खाँदा बिरामी पर्नुभएका समस्त नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।