कोरिया जान नपाएका युवाले गरे विभागमा तालाबन्दी

फागुन २६,काठमाडौं-कोरिया पठाइदिने भन्‍दै दलालले तीन करोड ठगेपछि आक्रोशित युवाले वैदेशिक रोजगार विभागमा तालाबन्दी गरेका छन्। तीनकुनेस्थित कार्यालयमा उनीहरुले बिहान ९स् ३० बजे वैदेशिक रोजगार विभाग र उजुरी शाखामा तालाबन्दी गरेका हुन।

आफूहरुले ठगिएकोबारे वैदेशिक रोजगार विभागले कुनै सुनुवाइ नगरेको, ठगेर फरार भएका म्‍यानपावर कम्‍पनीका दलालहरुलाई नसमातिएको र कार्बाही बारे कुनै जानकारी नदिनुका साथै सोधपुछ गर्दा उल्‍टै हप्‍काउने र आजभोली भन्‍दै टार्ने गरेकोले ताल्‍चा लगाउनु परेको ठगीमा परेका युवा शंकर गुरुङले बताएको खबर अन्नपुर्णले छापेको छ ।

उनले भने,  वैदेशिक रोजगार विभागले हाम्रो मागबारे सुनुवाइ गर्छ भनेर बस्दा नहुने रहेछ।उल्‍टै झन पो हेपेर कुरा गर्ने र आलटाल गर्ने मात्रै गरेको पायौ। न  फारारलाई समात्‍यो न त कुनै प्रगति विवरण नै दियो हामीलाई यो रोजगार विभागले। त्‍यकारण हामीले  कर्मचारी आउनु अगावै ताल्‍चा लगायौ हामीले। पैसा ठगेर फरार दलालहरुलाई खोजी गरी प्रकाउ गर्नुपर्ने, ठगिएका सबै युवाहरुको पैसा फिर्ता गर्नुपर्ने वा सम्‍बन्धित काममा पठाइदिनुपर्ने र विभागले  रोजगारीमा आइपरेका समस्याहरुको सुनुवाइ चाडो गरिदिनुपर्ने उनीहरुको माग रहेको छ।

नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयबाट श्रम स्वीकृति दिलाएर फागुन १४ गते दक्षिण कोरियातर्फ जान लागेका उनीहरूलाई विमानस्थलबाट फर्काइएपछि ठगीको रहस्य खुलेको थियो।  म्यान पावर कम्पनी र वैदेशिक रोजगार विभागका कर्मचारीले उनीहरुसँग जनही जनही आठ लाख रुपैयाँ उठाएको थियो। ठगिनेहरुमा धरान १३ सुनसरीका शंकर गुरुङ, सामाखुसी काठमाडौंका योगेन्द्र परियार, लमजुङका दाजुभाइ  इन्द्र बहादुर र रुद्रबहादुर अधिकारी, रुपन्देहीका अमरकाजी श्रेष्ठ, धनकुटाका मनबहादुर मगर, धादिङका सानुभाइ सापकोटा, पाल्‍पालका खिमबहादुर प्रसार्इ, धरानका दिपेन लिम्‍बू र नारायणघाटका सरोज पाण्डेसहित ४० जना छन्।

कोरियामा काम लगाइदिने भन्‍दै ठगीमा गत फागुन १९ गते प्रकाउ परेकी युनाइटेड एचआर कन्सल्‍ट्यान्टकी सञ्‍चालिका अप्‍सरा श्रेष्ठ
युवाहरुले ठगीमा संलग्न गिरोहका चार जानमध्‍ये युनाइटेड एचआर कन्सल्‍ट्यान्टकी सञ्‍चालक अप्‍सरा श्रेष्ठलाई नियन्त्रणमा लिर्इ वैदेशिक रोजगार विभागको तीनकुनेस्थित कार्यालयमा गत फागुन १९ गते बुझाएका थिए। अन्‍य तीन जना शारदाकुमार मगर, प्रकाश तिवारी र देवान पुन भने फरार रहेका छन्।