राप्रपा नेपाल फुट्यो लावतीको अध्यक्षतामा समानान्तर समिति गठन

फागुन २५, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको असन्तुष्ट पक्षधरले पद्मसुन्दर लावती अध्यक्ष रहेको समानान्तर केन्द्रीय समिति घोषणा गरेको छ ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी राप्रपा नेपालका असन्तुष्ट पक्षले अध्यक्षमा लावतीका साथै एक सहअध्यक्ष, ६ उपाध्यक्ष, ३ महामन्त्री, १२ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहेको १६३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।

सो समूहले पार्टीको विभागदेखि केन्द्र र स्थानीय तहसम्म समानान्तर समिति गठन गरेको जनाएको छ ।पत्रकार सम्मेलनमा लावतीले ‘पार्टीभित्रको नातावाद, कृपावाद र व्यक्तिवादका विरुद्ध समानान्तर समिति गठन गरेको’ बताए ।

नवगठित राप्रपा नेपालको केन्द्रीय समितिको पहिलो बैठक चैत्र १ गते काठमाडौंमा डाकिएको छ । राप्रपा नेपालको संस्थापन पक्षले गत मंसिर ९ गते लावतीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गरेको थियो ।पार्टीबाट निस्कासित भएलगत्तै लावतीले राप्रपा नेपाल सुदृढीकरण अभियान सन्चालन गरी पार्टी गठनको प्रक्रिया सुरु गरेका थिए ।