यसरी भयो ६ वर्षीया बलात्कृत बालिकाको निधन

फागुन २५, काठमाडौं – बारा जिल्ला कलैयाकी ६ वर्षीया बलात्कृत बालिका पूजा साहको उपचारका क्रममा हिजो बेलुका ७ बजे निधन भएको छ । कलैयामा बलात्कारपछि असक्त बनेकी साह थप उपचारका लागि यही फागुन १० गते कान्ति बाल अस्पताल काठमाडौँमा भर्ना भएकी थिइन् ।

निधन भएकी बालिकाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको र आज जिल्लाबाट परिवारजन आएपछि सल्लाह गरेर दाहसंस्कारका लागि घर फर्किने निजका बुवा बद्रीनारायण साहले राससलाई जानकारी दिनुभयो । बालिका यही फागुन ९ गते बिहान करिब ६ बजे कलैया–६ मोतीमार्गस्थित कपास उद्योगको फोहर फ्याक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

सुरुमा बालिकालाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिए पनि पछि थप उपचारका लागि कान्ति बाल अस्पताल ल्याई भर्ना गरिएको थियो । घटनामा संलग्न कन्हैयालाल गुप्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस आज विश्वभर महिलाको हकअधिकारको चर्चा भइरहेको दिन बलात्कृत बालिका साहले भने जीवनको अन्तिम स्वास फेरेकी छिन् ।