संविधान सहमतिको आधारमा बनाउनुको विकल्प छैन – खनाल

फागुन २४, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान सहमतिका आधारमा बनाउनुको विकल्प नभएको बताउनुभएको छ । एसियाली पोलिटिकल पार्टीको स्थायी कमिटीको मलेसियामा भएको २४ औं बैठक तथा थाइल्याण्डमा भएको युवाहरुको भेलामा सहभागी भएर आइतबार स्वदेश फर्किनुभएका एमाले वरिष्ठ नेता खनालले सहमतिका आधारमा नै संविधान बनाउनुपर्ने र त्यसका लागि सबै दल लचिलो हुनुपर्ने बताउनुभयो ।

उहाँले सकेसम्म सबैको सहमति तथा नभए अधिकतम सहमति जुटाएर संविधान जारी गर्दा कार्यान्वयन गर्न सजिलो हुने र मुलुकमा स्थिरता कायम हुने बताउनुभयो ।एमाले वरिष्ठ नेता खनालले संविधानका अन्तर्वस्तुमा दलहरुबीच खासै ठूलो विवाद नरहेकाले अब वार्तालाई तिब्रता दिएर विवाद टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले वार्ता सुरु भैसकेकाले अब विपक्षी दलले फेरि आन्दोलनमा जान नहुने बताउनुभयो । एमाले वरिष्ठ नेता खनाल फागुन १५ गते मलेसिया प्रस्थान गर्नुभएको थियो ।