श्रीलंकालाई हराउँदै अष्ट्रेलिया क्वार्टरफाइनलमा

फागुन २४, काठमाडौँ – विश्वकप क्रिकेट अन्तर्गत खेलमा श्रीलंकामाथि ६४ रनको जित हासिल गर्दै अष्ट्रेलिया पनि समूह ए बाट एक खेल खेल्न बाँकी छँदै क्वार्टरफाइनलमा पुगेको छ ।सिड्नीमा भएको खेलमा तीन सय ७७ रनको कठिन चुनौती पछ्याएको श्रीलंका तीन सय १२ रनमा समेटिएको थियो ।कुमार सांगाकाराले एक सय चार तथा तिलकरत्ने दिलशानले ६२ रन बनाएको इनिङ्गमा दिनेश चाँदिमालले रिटायर्ड हर्ट हुनुपूर्व २४ बलमा ५२ रन बनाए ।

जेम्स फल्कनरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर तीन सय ७६ रन बनायो । ग्लेन म्याक्सवेलले ५३ बलमा एक सय दुई रन जोडे ।
यसैगरी स्टेभेन स्मिथले ७२, माइकल क्लार्कले ६८ तथा शेन वाट्सनले ६७ रन बनाए ।
विश्वकपको दोस्रो इनिङ्गमा तीन सय रन बनाएर पनि पराजय बेहोर्ने श्रीलंका दोस्रो टिम बनेको छ ।अघिल्लो दिनमात्रै जिम्बाबेले तीन सय २६ रन बनाउँदा पनि आयरल्याण्डसंग पाँच रनको हार बेहोरेको थियो ।विश्वकप अन्तर्गत सोमबार इङ्गल्याण्ड र बंगलादेश एड्लेडमा बिहान सवा ९ बजे भिड्दै छन् ।